पत्रकार नेत्र पन्थीद्वारा लिखित डिभोर्स बजारमा आएको छ । पत्रकार पन्थीले यसलाई जोड दिएर प्रचण्ड र बाबुरामको नामकरण गरेका छन् र साक्षीका रूपमा रक्तरञ्जित युद्ध सारथिका अन्तरंग कथा पनि भन्न भ्याएका छन् । विशेषत: ‘डिभोर्स’ पतिपत्नीका बीच हुने सामाजिक असमझदारीबाट पैदा हुने विषय हो । हाम्रो सभ्यतामा यसले सामाजिक र कानुनी मूल्यबाट वैधानिकता पाउनुपर्छ । हाम्रो कानुनमा विशेषत: महिलाले चाहेमा यो सजिलै हुन सक्छ । तर, मुस्लिम संस्कृतिमा तीनपटक तलाक भनेपछि यसले सम्बन्ध विच्छेदको मान्यता पाउँछ । यस्तो सामाजिक सम्बन्धको विषयलाई पत्रकार पन्थीले प्रचण्ड, बाबुरामजस्ता रक्तरञ्जित इतिहासको पात्रको राजनीतिक दूरीलाई प्रतिबिम्बित गर्न प्रयोग गर्नुले अर्थ राख्छ । इतिहासका विद्यार्थीका लागि यो अध्ययन सामग्री बन्ने नै छ ।
डिभोर्सलाई लेखकले अन्तरंग कथाको नामकरण गरे पनि यो अन्तरंग मात्र छैन, समग्र माओवादी आन्दोलन र यसका वरिपरिका पात्र र प्रवृत्तिवरिपरि पनि घुमेको छ । अर्कोतिर यो इतिहास लेखन पनि होइन, र जीवनी पनि होइन । यो राजनीतिक आलेखहरूको संग्रह पनि होइन । लेखकले अहिलेको बजार र पाठकको रुचिलाई बुझेर नै तयार पारेका देखिन्छन् र पढ्नका निम्ति रुचिकर शैली अपनाएका छन्, जुन स्वागतयोग्य छ । जनयुद्धका नेतृत्वकर्ता दुई नेताबीचको राजनीतिक खिचातानीको विषयलाई आख्यान शैलीमा लेख्ने पद्धति नौलो पनि लाग्छ । यो शैली भित्र्याउने श्रेय लेखकलाई दिन हिचकिचाउनुपर्छ जस्तो लाग्दैन । डिभोर्समा एकैचोटि कथा, संस्मरण, राजनीति र द्वन्द्व सम्मिश्रण भएको छ । यस्तै यसका उपशीर्षकहरूले कथा वाचकको काम पनि गरेका छन् त्यसैले यो नयाँ प्रयोग भनेको हुँ ।
डिभोर्समा लेखकले आफ्नो विचार थोपरेका छैनन् । इतिहासमा घटेका घटनालाई इतिहासकारले झैँ अन्वेषण गरेका छन् । पात्र र प्रवृत्तिलाई जस्ताको तस्तै उतारेका छन् । तर, लेखकीय जिम्मेवारी के हो भन्ने प्रश्न त उठ्छ । माओवादी आन्दोलनभित्रको आरोह–अवरोहको यो शृंखला कहाँ जाने हो, के हुने हो भन्ने अवस्थाबारे लेखक सचेत छन् । एउटा जिम्मेवार पत्रकारको भूमिकामा उनी पुस्तकमा प्रस्तुत भएका छन् । तथ्यबाट सत्य उद्घाटित होस् भन्ने लेखकको मनसाय देखिन्छ, त्यसमा सफल पनि देखिन्छन् । समकालीन समाज र वर्तमान राजनीतिक उतार–चढावमा पत्रकारहरूले प्रतिपक्षको भूमिका निभाइरहेको अवस्थामा यहाँ त्यो प्रतिपक्ष भने देखा पर्दैन । नेत्र पन्थीजस्तो युवा पत्रकार किन आफ्नो विचार राख्न डराउनुपर्ने अवस्था आयो ? अनि यसैको निरन्तरता पुस्तक विमोचन समारोहमा पनि उनी किन भूमिगत रहे भन्ने प्रश्न उब्जाएको छ । विमोचन समारोहमा नेता टोपबहादुर रायमाझीले ‘भागो नहीँ, दुनियाँको बदलो’ भन्दै बाबुरामलाई व्यंग्य गर्नुभएको थियो । त्यस बखत मैले भने लेखक पन्थीलाई सम्झेँ । त्यसैले यो किताबले प्रचण्ड र बाबुरामको मात्र डिभोर्स गरेको छैन, लेखक स्वयंलाई डिभोर्सको छायाले लखेटिरहेको त छैन भन्ने छनक दिएको छ । अत: पुस्तक रहस्यमय बन्न गएको छ ।
जहाँसम्म डिभोर्सले उठाएका विषय हुन्, ‘यो पुस्तक किन ?’ भन्ने भूमिकामा लेखकले ‘खरानी रंगका सफारी सुट लगाएका सिक्लेसबाट बालुवाटार आएका प्रचण्ड र बाबुराम काठमाडौं नयाँबजारमा एउटै घरमा बसे । तर, एक वर्षपछि घर छुट्टियो र एक दशकपछि पार्टी’ उल्लेख गरेका छन् । यस्तो कसरी भयो ? जानेर भयो कि नजानेर ? प्रायोजित थियो कि स्वस्फुर्त ? आवश्यकता थियो कि बाध्यता ? स्वाभाविक थियो कि षड्यन्त्र ? आकांक्षा मात्र हो कि महत्त्वाकांक्षा ? समाजको कुरा थियो कि व्यक्तिको कुरा थियो ? आदि प्रश्न यो पुस्तक पढ्दा उठ्ने विषय हुन् । राजनीतिको समग्र क्षेत्रमै आज यो विषय उठिरहेको छ । नेपाली कम्युनिस्ट आन्दोलन टुटफुट र जुटबाट गुज्रँदै अगाडि बढेको देखिन्छ । तर, डिभोर्सले उठाएका प्रश्न टुटफुटको होइन, डिभोर्सको हो । जुन पुन: जोडिने सम्भावना निकै कम छ ।
प्रथमत: बाबुरामको डिभोर्सलाई ‘अल द बेस्ट पापा’ भन्ने उनको छोरीको भनाइ र पूर्वसूचनाविहीन टोपबहादुरले सूचना पाएपछि थचक्क बसेको कथाबाट सुरु भएको पुस्तक मूलत: जनयुद्धको सुरुवातदेखि बाबुराम भट्टराईको पार्टी परित्यागसम्म घुमेको छ । यसले राजनीतिक रूपमा एउटै कपडा लगाउने, एउटै घरमा बस्ने र रक्तरञ्जित इतिहास भएका पात्रहरू किन डिभोर्ससम्म पुगे ? त्यसका पछाडि कति राजनीतिक कारण छन् र कति मनोवैज्ञानिक कारण छन् ? भन्नेबारे पाठकहरूलाई सोच्न र दिमाग खियाउन प्रेरित गर्छ ।
एकता पनि राम्रो, फुट पनि राम्रो, जुट पनि राम्रो भन्ने मनोविज्ञानका कारण नेपाली राजनीति यथार्थबाट भागिरहेको छ । यो यथार्थलाई पुस्तकले उजागर गरेको छ । फुटबाट आफूलाई अब्बल साबित गर्न खोज्ने अक्षरका खेतीहरूप्रतिको असन्तोष पनि हो यो पुस्तक । नेपाली राजनीति वैचारिक, राजनीतिक कारणले कम आग्रह–पूर्वाग्रहले बढी डिभोर्स हुन्छन् र अन्त्यमा दु:खान्त घटनामा परिणत हुन्छन् भन्ने सन्देश पनि यो पुस्तकले दिन खोजेको छ । समग्रमा प्रचण्ड र बाबुरामबीचको डिभोर्स राजनीतिक नभई मनोवैज्ञानिक कारण नै प्रमुख रहेकोतर्फ लेखक आँैल्याउँछन् । अत: राजनीतिज्ञहरूले राजनीति र विचारलाई केन्द्रमा राख्न अझै नसकिरहेको अवस्थाबारे पनि प्रस्ट्याउँछ पुस्तकले ।
दोस्रो : नेपाली राजनीतिको वैचारिक संघर्ष भनेको खुराफात हो । गुटबन्दी हो । मूल्यहीनता हो । स्वार्थको खेल हो । यो राजनीतिक आवरणमा देखा पर्छ । भित्र के–कस्ता घटना घट्छन् भन्ने कुरा हिजोका दरबारका पटकथा भन्दा फरक छैनन् आजका राजनीतिक पार्टीका कथा । सबभन्दा अग्रगामी क्रान्तिकारी पार्टी कसरी चुनवाङमा विलीनवादसम्म पुग्छन् ? कसरी एउटै घरमा बस्छन् ? अनि फेरि कसरी डिभोर्ससम्म पुग्न सक्छन् ? तैपनि आफूलाई अब्बल दर्जाका परिवर्तनकारी देखाउन लाज मान्दैनन् ? नैतिक धरातलविनाको राजनीति अन्तत: डिभोर्समा टुंगिन्छ भन्ने यो किताबको वैचारिक राजनीतिक पक्ष हो ।
डिभोर्सले उठाएका अन्तरकथामा कयौँ पक्ष नयाँ उद्घाटित भएका छन्, जुन पुस्तक पढ्दा थाहा हुन्छ । पुस्तक प्रचण्ड र बाबुरामका वरिपरि घुमे पनि समग्र माओवादी आन्दोलनको वरिपरि पनि घुमेको छ । पछिल्लो चरणमा नेकपा (एकता केन्द्र)सँगको पार्टी एकतापछिको पात्र र प्रवृत्ति पनि पुस्तकका रोचक पक्ष हुन् । तिनै पात्र र प्रवृत्तिका कारण कसरी धोबीघाट घट्यो र धोबीघाटको गठबन्धन कसरी एक महिनामै डिभोर्समा परिणत भयो भन्ने कुरालाई पनि यहाँ उल्लेख गरिएको छ । धोबीघाटपछि मोहन वैद्यको फुट । त्यसपछि बाबुराम भट्टराईको डिभोर्स र नयाँ शक्ति । नयाँ शक्तिमा किन अटाएनन् टोपबहादुर रायमाझी ? आदि जस्ता मसिना प्रसंगले थप रोचक बनाएको छ पुस्तकलाई ।
समग्रमा डिभोर्सले माओवादी आन्दोलनभित्रको अन्तरकथा, गुट–उपगुट र छलकपटका कथालाई तथ्यसाथ अगाडि ल्याउने प्रयास गरेको छ । यस्तै राजनीति सीधा बाटोमा मात्र हिँड्दैन, माकुराको जालोजस्तो घुमाउरो छ भन्ने विषयलाई पनि प्रस्ट्याउन खोजेको छ । राजनीतिमा निष्ठा भएन, महत्त्वाकांक्षा मात्र भयो । देश र जनता केन्द्रमा भएनन्, व्यक्ति मात्र केन्द्रमा भयो भने त्यो डिभोर्समा गएर टुंगिन्छ भन्ने सन्देश दिन पुस्तक सफल भएको छ । राजनीतिमा त विद्रोह हुन्छ, डिभोर्स हुँदैन । तर, विडम्बना † लेखकको विश्लेषणमा माओवादी आन्दोलनमा डिभोर्स भयो । त्यो राजनीतिक परिघटना होइन । सामाजिक विषय हो भन्ने पुस्तकको आशय हो । राजनीति राजनीतिकै विषय बन्नुपर्छ, डिभोर्स होइन भन्ने कुरासँग सहमत हुन सकिन्छ । यस अर्थमा बाबुरामको फुट पनि डिभोर्स हो भन्ने कुरा नै सत्य हो ।
अन्त्यमा पुस्तक लेखनीमा पत्रकार पन्थीको मिहिनेत पुस्तक पढेपछि थाहा हुन्छ । यो पुस्तक माओवादी आन्दोलन मात्र होइन, नेपाली नेताहरूको मनोविज्ञान बुझ्नलाई पनि सहायक सिद्ध हुने देखिन्छ । राजनीतिका खेलभित्रका खेल व्यवस्थापन गर्न कस्ता चुनौती हुँदा रहेछन् भन्ने कुरा पनि पुस्तकमार्फत बुझ्न सकिन्छ । पढ्नैपर्ने पुस्तक प्रकाशित भएको छ । यसका लागि लेखक तथा पत्रकार पन्थी धन्यवादका हकदार छन् । तर, लेखक समस्या मात्र देखाउने, यथार्थ मात्र प्रस्तुत गर्ने तर समाजप्रतिको दायित्वबाट पन्छिएको देख्दा भने अलि नमज्जा लाग्छ । साथै, ३६२ पेजको यो पुस्तक मूल्यका हिसाबले अलि महँगो लाग्छ ।