किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको आदेश : सोमबार उपस्थित गराउन निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामग्रीसहित आगामी सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उनलाई उपस्थित गराउन आदेश दिएको हो।

श्रेष्ठलाई बुधबार ललितपुरको कुसुन्तीस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले उनलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ। पक्राउअघि सम्बन्धित अदालतबाट अनुमति लिइएको पनि प्रहरीको भनाइ छ।

पक्राउपछि श्रेष्ठलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

यसैबीच, उनकी पत्नी सरस्वतीले श्रेष्ठको पक्राउ र हिरासतको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

उक्त रिटमाथिको सुनुवाइपछि सर्वोच्चले उनलाई पक्राउ गर्दा बरामद गरिएका सामग्रीसहित सोमबार अदालत उपस्थित गराउन आदेश दिएको हो।