काठमाडौं । जाजरकोटमा अविरल वर्षापछि तासुघाट खोलामा आएको बाढीले चार घर र एउटा टहरा बगाएको छ। बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ भने झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नलगाड नगरपालिका–१०, रोलीस्थित तासुघाट खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि तत्कालका लागि वैकल्पिक बाटोसमेत नरहेको प्रहरीले जनाएको छ।
बाढीले नलगाड नगरपालिका–१० रोलीका पृथ्वीबहादुर विक, खैते विक, नरबहादुर विक र हस्त विकका घर बगाएको प्रहरीले जनाएको छ। घर बगाए पनि उनीहरूका परिवारका सबै सदस्य सुरक्षित स्थानमा सरेका छन्।
पृथ्वीबहादुर विकको दुईतले ढुंगा–माटोले बनेको र ढुंगाको छाना भएको घर बगेको छ। उनको नौ सदस्यीय परिवार सुरक्षित स्थानमा बसेको छ। त्यस्तै, खैते विकको दुईतले, नरबहादुर विकको तीनतले र हस्त विकको दुईतले घर पनि बाढीले बगाएको छ। उनीहरूका क्रमशः १०, १० र ८ सदस्यीय परिवार सुरक्षित रहेको प्रहरीले जनाएको छ।
यस्तै, वीरबहादुर विकको जग्गामा सुन्तली विकले सञ्चालन गर्दै आएको टिनको टहरा तथा नास्ता पसलसमेत बाढीले बगाएको छ।
घटनाबारे बिहान साढे ६ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। तर, झोलुङ्गे पुल बगिसकेका कारण टोली तत्काल घटनास्थलसम्म पुग्न नसकेको प्रहरीले जनाएको छ।
हाल घटनास्थलतर्फ थप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ। घटनाको थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय रग्दाबाट करिब एक किलोमिटर पश्चिममा पर्छ।







