काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजदेखि पाँच सय रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। गभर्नर विश्वनाथ पौडेल को हस्ताक्षर रहेका नयाँ नोट साविककै आकार र रङमा जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याइएको हो। नेपाली नोटको नम्बरिङ प्रणालीमा क, ख, ग हुँदै अक्षर क्रम अगाडि बढ्ने व्यवस्था छ।
यसपटक झ, ञ र ट संकेत प्रयोग गरिएका छन्। प्रत्येक संकेतअन्तर्गत ०००००१ देखि ९९९९९९ सम्मका करिब १० लाख थान नोट छापिने भएकाले कुल ३० लाख थान नयाँ पाँच सय रुपैयाँका नोट बजारमा पठाइएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ।
यसअघि राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि २०२० सिरिजका ५०० रुपैयाँ दरका २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो।
नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। तल्लो भागमा ‘सिरिज नम्बर २०८२’ उल्लेख गरिएको छ। दृष्टिविहीन तथा फरक क्षमता भएका व्यक्तिले स्पर्शबाट नोटको दर पहिचान गर्न सकून् भन्ने उद्देश्यले पानीछापको बायाँतर्फ दुईवटा कालो थोप्ला राखिएको छ।
त्यस्तै, सगरमाथा हिमालको दायाँपट्टि अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र समावेश गरिएको छ। नोटमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित ३.५ मिलिमिटर चौडाइको सुरक्षा धागो राखिएको छ, जुन सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने विशेषता रहेको छ।
नोटको पछाडिको भागको मध्य क्षेत्रमा पाटेबाघको चित्र राखिएको छ भने माथिल्लो भागमा ‘NEPAL RASTRA BANK’ उल्लेख गरिएको छ। तल्लो भागमा ‘RUPEES FIVE HUNDRED’ र ‘Series Number 2025 AD’ लेखिएको छ।








