काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित सानोभर्याङबाट प्रहरीले गैरकानुनी रूपमा आर्थिक कारोवार गर्दै आएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ स्थायी घर भई सोही स्थान बस्दै आएकी २२ वर्षीया रोजिना सुनार र चीनका ३८ वर्षीय नागरिक जियाओ याङ (JIAO YANG) रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई गत बिहीबार राति राति पक्राउ गरिएको हो। गैरकानुनी रूपमा आर्थिक कारोबार भइरहेको सूचना पाएपछि प्रहरी टोलीले छापा मारेको थियो। सो क्रममा रोजिना सुनार र जियाओ याङको निवासबाट ठूलो परिमाणमा नगद र अन्य सामान बरामद गरिएको बताइएको छ।
प्रहरीले जनाए अनुसार नेपाली नगद एक करोड दस लाख सत्तरी हजार रुपैयाँ, सुनजस्तै देखिने पहेँलो धातुका गहना, विभिन्न कम्पनीका पाँच थान मोबाइल सेट, Apple MacBook Pro, ल्यापटप, नागरिकता, राहदानी, एउटा BYD कार र विभिन्न बैंक तथा सहकारी संस्थाका चेकबुकहरू फेला परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका दुवैजनामाथि मुलुकी फौजदारी संहिता २०७४ को प्रावधानअनुसार मनी लन्डरिङ (अवैध सम्पत्ति आर्जन) र विदेशी नागरिकसम्बन्धी कानुनअन्तर्गत अनुसन्धान भइरहेको छ।







