युवालाई प्रदेशभित्रै रोजगारी र उद्यमशीलता सृजना गर्ने प्रदेशमन्त्री केसीको प्रतिवद्धता

ललितपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल के.सी.ले युवाहरुलाई प्रदेशभित्रै सृजनशील काम, रोजगारी र उद्यमशीलताको अवसर दिनमा ध्यान दिने बताएकी छन्।

नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री के.सी.ले मन्त्री पदको गरिमा कायम राख्दै प्रदेशबासी नागरिकको हीतमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

“तपाईंहरूले गरेको श्रद्धा र सम्मानलाई चुक्न दिने छैन, उदाहरणीय काम गरेर सकारात्मक छाप छोड्नेछु, पदमा रहँदा कुनै घमण्ड गर्ने छैन, नागरिकको पक्षमा उभिनेछु, युवाहरुलाई प्रदेशभित्रै काम, रोजगारी र उद्यमशीलताको सृजना गर्न ध्यान दिनेछु,” उनले भनिन्।

मन्त्री के.सी.ले आफू केही गर्ने सोचका साथ जिम्मेवारीमा आएको भन्दै सहकार्य र समन्वयमा जोड दिइन्। उनले पार्टीले इमानदारी, लगनशीलता र धैर्यताको कदर गरेको उल्लेख गर्दै महिलालाई राजनीतिक नेतृत्वमा अगाडि बढाउन ललितपुर कांग्रेसले दिएको योगदानप्रति आभार व्यक्त गरिन्।

बागमती प्रदेश कांग्रेसका सहमहामन्त्री ऋषिराम घिमिरेले पदमा रहेर नागरिकको हीतमा इमानदारीपूर्वक काम गर्न आग्रह गर्दै खेलकुद क्षेत्रका लागि छुट्याइएको बजेट प्रभावकारी ढंगले कार्यान्वयन गर्न सुझाए।

ललितपुर कांग्रेसका सभापति जितेन्द्र कुमार श्रेष्ठले संगठन मात्र होइन, समस्यामा परेका नागरिकलाई निस्वार्थ सहयोग गरेर के.सी.ले पाएको वर्तमान स्थान त्याग, संघर्ष र योगदानको परिणाम भएको बताए।

उपसभापति सुदर्शन घिमिरेले उर्मिला नेपाल के.सी.लाई गतिशीलता र प्रेरणाको स्रोत भन्दै पार्टी र नागरिकले गरेको विश्वासलाई उच्च राख्नुपर्नेमा जोड दिए।