कवि लालगोपाल सुवेदीद्वारा लिखित ‘ चेतन प्रवाहमा सारेगमप (लामो कविता ) कृति अमेरिकाको बोस्टन सहरस्थित पशुपति बुद्ध फाउन्डेशनको सभाहलमा हालै विमोचन गरियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक तथा वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले बोस्टनका साहित्यकार तथा साहित्यानुरागीका माझमा उक्त कृतिको विमोचन गरेका हुन् ।
फादर्स डे ( पिता दिवस), विश्व प्रेम कविता अभियान तथा अनेसास संस्थापक होमनाथ सुवेदी , साहित्यकार मोहन सिटौला तथा प्रेम कविता अभियानकर्ता कवीन्द्र् सिटौलालाई सम्मान गरिएको उक्त कार्यक्रममा नेपाल प्रेम र शान्तिको उद्गम भूमि हो भन्ने धारणा सबै वक्ताहरूले प्रकट गरे ।
कवि लालगोपाल सुवेदीले ‘ प्रेम र शान्ति ‘ शीर्षकको कविता वाचन गर्दा सम्पूर्ण श्रोतागण मन्त्रमुग्ध बनेको थियो ।प्रमुख अतिथि होमनाथ सुवेदीले कवि लालगोपालका कविता विशिष्ट कोटिका हुने धारणा राखे ।
साहित्यकार मोहन सिटौलाले कवि लालगोपालका सबैजसो कविता उच्च गुणस्तरीय हुने तथ्य औंल्याए ।अनेसासका सल्लाहका गोबर्धन पूजाले बोस्टन अमेरिकाकै साहित्यिक राजधानी हो भन्ने विचार व्यक्त गरे ।
अभियन्ता कवीन्द्र सिटौलाले प्रेमको महत्त्व दर्शाए । हाम्रो संवाददाताले कृतिबारे कवि लालगोपाल सुवेदीसंग जिज्ञासा राख्दा उनले ‘चेतन प्रवाहमा सारेगमप ‘बारे थप जानकारी दिएका छन् ।
सुवेदीका अनुसार यो १६० पृष्ठमा फैलिएको लामो कविता हो ।प्रा.डा.अभि सुवेदी तथा प्रा.डा.गोविन्दराज भट्टराईका भूमिकामा उल्लेख गरेअनुसार पाश्चात्य जगतका साहित्यकार जेम्स ज्वायस , भर्जिनिया उल्फ आदिले प्रतिपादन तथा विकसित गरेको चेतन प्रवाह शैलीको प्रयोग यसमा गरिएको छ ।
नेपाली साहित्यमा शंकर लामिछाने, मोहन कोइराला, इन्द्रबहादुर राई ,जगदीश शम्शेर राणा आदिले यस शैलीको प्रयोग आफ्ना कृतिमा गरेका छन् । यस कृतिमा समय र भूगोलको लामों र फराकिलो फेरो उधिनिएको छ ।
यसमा ३००वर्षभन्दा बढी समयको नेपाल निर्माण क्रममा मगर, गुरुङ,किराँत, नेवार , शेर्पा आदि जात जातिको वलिदानी र पुस्तान्तरण हुन नसकेको आत्मसम्मान भावको पीडा अभिव्यक्त छ ।
यसमा हिमाल, पहाड, तराईका नेपाली जातिका साँस्कृतिक योगदान र प्रथम तथा दोस्रो विश्वयुद्धमा लडेका नेपाली सिपाहीका सङ्घर्षगाथादेखि , वर्तमान नेपालको ,प्रतिभा पलायन,गुम्दै गएको आत्मसम्मान , ह्रासोन्मुख सद्भाव र मानवता , व्यक्तिवादिता, पारिवारिक विखण्डन, वातावरणीय ह्रास लगायतका बहुविषयलाई चेतन- प्रवाह शैली ,क्रमभङ्ग स्वप्न लेखन पद्धतिद्वारा प्रकट गर्ने प्रयास भएको छ ।