काठमाडौ । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ। दुवै देशका सैन्य प्रमुखहरूबीच आज दिउँसो ३:३५ बजे भएको टेलिफोन संवादपछि युद्धविरामको सहमति जुटेको हो ।
सहमति अनुसार, शनिबार साँझ ५ बजेदेखि नै स्थल, जल, र आकाशमार्गबाट हुने सबै प्रकारका सैन्य कारबाहीहरू रोकिएका छन् ।
यो युद्धविराम अमेरिका, साउदी अरेबिया, र टर्कीको मध्यस्थतामा सम्भव भएको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत् यो सहमतिबारे जानकारी दिँदै दुवै देशलाई बधाई दिएका छन् ।
हालको संघर्षविरामको उद्देश्य तनाव कम गर्नु र आगामी दिनहरूमा विस्तृत वार्ताको ढोका खोल्नु हो। दुवै देशका अधिकारीहरू सोमबार थप छलफलका लागि भेट्ने तयारीमा छन् ।
यद्यपि, इन्डस जल सन्धि अझै निलम्बित अवस्थामा छ, र व्यापार तथा भिसासम्बन्धी प्रतिबन्धहरू पनि यथावत् छन् ।
यो युद्धविरामले क्षेत्रीय स्थायित्वतर्फको महत्वपूर्ण कदमको रूपमा लिइएको छ, तर दीर्घकालीन शान्तिका लागि अझ गहिरो कूटनीतिक प्रयास आवश्यक हुनेछ।
जम्मु कस्मिरको पर्यटकीय क्षेत्र पहलगाममा आतंकबादी हमलापछि आतंकबादीलाई कार्वाही गर्ने भन्दै भारतले अपरेसन सिन्दुर संचालन गरेपछि पाकिस्तानले प्रतिरोध गरेको थियो । यो संगै दुबै देश युद्धमा प्रवेश गरेका थिए ।
अपडेट
भारत र पाकिस्तानबीच शनिबार साझबाट भएको भनिएको युद्धविराम केही घण्टामै भंग भएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार पाकिस्तानले जम्मु-कश्मीर क्षेत्रमा गोलीबारी, ड्रोन आक्रमण र सीमा पारबाट आक्रमणहरू गरी युद्धविरामको उल्लंघन गरेको छ ।
भारतले पाकिस्तानमाथि युद्धविराम उल्लंघनको आरोप लगाउँदै कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले पाकिस्तानले सीमा पारबाट आक्रमण गरेको र भारतीय सेनाले त्यसको अनुपातिक जवाफ दिइरहेको बताएका छन् ।
पाकिस्तानले भने भारतको आक्रमणको आरोप अस्वीकार गरेको छ ।
भारतीय सेनाले पाकिस्तानका तीनवटा एयर बेसहरूमा आक्रमण गरेको पाकिस्तानको दाबी छ। आफूहरू प्रतिरोध मात्र गरिरहेको पाकिस्तानले जिकिर गरेको छ ।
युद्धविरामको उल्लंघनपछि भारतको जम्मु, पंजाब, राजस्थान र गुजरातका सीमावर्ती क्षेत्रमा ब्ल्याकआउट घोषणा गरिएको छ। ड्रोन आक्रमण र गोलीबारीका कारण स्थानीय बासिन्दाहरूलाई सतर्क रहन र घरभित्रै बस्न आग्रह गरिएको छ ।
अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ। यद्यपि, वर्तमान परिस्थितिमा युद्धविरामको स्थायित्वप्रति शंका उत्पन्न भएको छ।