कक्षा १२ को परीक्षा स्थगित नभएको परीक्षा बोर्डद्वारा स्पष्ट, हेर्नुस् विज्ञप्ति

सानोठिमी । भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले एक सूचना प्रकाशित गर्दै कक्षा १२ को वार्षिक परीक्षा यहीँ २०८२ साल वैशाख ११ गतेदेखि सञ्चालन हुने कार्यक्रम यथावत रहेको स्पष्ट पारेको छ । परीक्षा सञ्चालन स्थगित भन्दै प्रचारित भ्रामक सूचनाको पछि नलाग्न आग्रह गर्दै बोर्डले शुक्रबार एक विज्ञप्तिमार्फत परीक्षा निर्धारित मितिमै हुने स्पष्ट पारेको हो ।

विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक गरिएका भ्रमपूर्ण सूचनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको र अध्यक्ष डा महाश्रम शर्माको हस्ताक्षर समेत स्क्यान गरेर भ्रमपूर्ण प्रचार गरिएको प्रति बोर्डले आपत्ति प्रकट गरेको छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षाका आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन् ।

परीक्षा सम्बन्धी आधिकारिक सूचनाका लागि बोर्डको आधिकारिक वेबसाइट www.neb.gov.np मार्फत जानकारी लिन उनले आग्रह गरे ।

परीक्षा नियन्त्रक द्वारा जारी विज्ञप्तिमा परीक्षाका लागि सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गरिएको छ ।

हेर्नुस् विज्ञप्ति

बैशाख ११ गते शुरु भई २४ गते सकिने परीक्षाका लागि परीक्षा केन्द्र पनि निर्धारण भईसकेका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० देखि आन्दोलनरत शिक्षकहरुले भने परीक्षा स्थगित गर्न चेतावनी दिदैँ आएका छन् ।

यस वर्ष कक्षा १२ को परीक्षामा ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी सहभागी हुँदैछन् ।