बागमती प्रदेश सरकार मातहत संचालित काठमाडौको टोखास्थित टोखा चण्डेश्वरी अस्पतालले सिटिजी सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालका अध्यक्ष प्रकाश खड्गीले सो सेवाको उद्घाटन गरेका छन् ।
CTG (Cardiotocography) सेवा सञ्चालन भएसंगै गर्भवती महिलाको स्वास्थ्य सेवामा सुविधा थपिएको छ । पेटभित्र रहेको बच्चाको मुटुको धड्कनको चाल जाँच तथा बच्चा चले नचलेको अध्ययन गरी बच्चाको खतराको स्थिति (Fetal Distress) पत्ता लगाउन यसले मद्दत गर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीधर अर्यालले जनाएका छन् ।
यो सेवाबाट गर्भाशयमा रहेको बच्चाको सही अवस्था थाहा पाउन र आवश्यक उपचार गरेर बच्चाको ज्यान जोगाउन सकिने बताइएको छ ।
यसैबीच अस्पतालले शुक्रबारबाट हाडजोर्नीको अपरेशन (Orthopaedics Surgery) सेवा पनि सुरु गरेको छ।
अस्पतालको कन्सल्टेण्ट डक्टरहरु डा. शिवेश कुमार बर्मा र डा. प्रतिक सिंह लगायतको अपरेशन कक्षको मेडिकल टोलिले पहिलो अपरेशन सम्पन्न गरेका मेडिकल सुपरिटेन्डेन्ट डा अर्यालले बताएका छन् ।
डा अर्याल आफैं पनि वरिष्ठ सर्जन हुन् । आफ्नो विशेषज्ञतामा उनी नेपालकै उत्कृष्ट १० सर्जन मध्ये पर्छन् ।
बागमती प्रदेश सरकारले काठमाडौ उपत्यकामा भक्तपुर अस्पतालमार्फत आफ्नो उत्कृष्ट स्वास्थ्य नीति र सेवाहरुको छाप छोड्न सफल भएको छ ।
टोखा चण्डेश्वरी अस्पताललाई पनि सेवा सुविधा थप्दै उपत्यकामा प्रदेश सरकारको अनुभूति दिलाउन लागिरहेको स्वास्थ्य सचिव डा सुमित्रा गौतम बताउँछिन ।
संघीय राजधानीमा रहेका आफ्ना अस्पताललाई संघीय सरकारका अस्पतालकै दाजोमा स्वास्थ्य सेवामा अब्बल बनाइने उनले बताएकी छन् ।
काठमाडौँ जिल्लाको टोखा नगरपालिका वडा नं २ मा अवस्थित टोखा चण्डेश्वरी अस्पताल तीन दशक पुरानो इतिहास बोकेको अस्पताल हो । यो अस्पताल २५ शैयाको छ ।