राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार साँझ उनी पक्राउ परेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठ स्थित हेपाली हाइटबाट उनलाई पक्राउ गरेको हो ।
शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका थिए । उच्च अदालतको आदेश संगै उनलाई पक्राउ गरिएको हो ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले भने आफूमाथि राज्य आतंक भएको प्रतिक्रिया दिएका छन् । आफू गिरफ्तारी दिने तयारीमै रहेपनि प्रहरी बिना पक्राउ पूर्जी केहीसमय पनि नकुरी आफ्नो बेडरुम सम्मै समात्न आएको उनको गुनासो छ ।