पचास वर्षमा थ्री स्टार क्लब, शनिबार पूर्व खेलाडीबीच मैत्रीपूर्ण प्रतियोगिता हुने

ललितपुर । थ्री स्टार क्लबको स्वर्ण जयन्तीको अवसरमा पूर्वखेलाडीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

थ्री स्टार क्लबको स्वर्ण जयन्ती समारोहको बारेमा जानकारी दिन मंगलबजारमा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव धर्मेन्द्रराज शाक्यले थ्रीस्टार क्लबबाट विभिन्न प्रतियोगितामा खेलेर आफनो योगदान दिइसकेका खेलाडीहरुलाई भेला गरी यही चैत २३ गते शनिबार मैत्रीपूर्ण प्रतियोगिता हुने जानकारी दिए ।

“पूर्वखेलाडीहरुको मैत्रीपूर्ण खेल मिति २०८१ चैत्र २३ गते शनिवार दिउसो १:३० बजेबाट बुद्धि विकास मण्डल खेल मैदानमा गरिनेछ । यो करिव ६० जना पूर्व खेलाडीहरुबीच मैत्रीपूर्ण खेल हुनेछ।” महासचिव शाक्यले भने ।

स्वर्ण जयन्ती समारोहको अवसरमा क्लबलाई परिचित गराउने तथा खेलजगतमा महत्त्वपूर्ण योगदान पुर्‍याउने खेलाडीहरु, शुभचिन्तकहरु, सहयोगीहरु संघ संस्थाहरुलाई सम्मान तथा अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । 

स्वर्णजयन्ती समारोहको अवसरमा चैत २९ गते अशोक हलमा पूर्वखेलाडीहरुलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको आयोजकको भनाइ छ ।

पूर्व खेलाडीहरुबीच भेटघाट तथा पुर्नमिलन गर्ने उद्धेश्यले मैत्रीपूर्ण खेल र सम्मानको कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

स्वर्णजयन्तीको अवसरमा क्लबले सांगीतिक तथा नेवा: भ्वय् कार्यक्रम, स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

कार्यक्रमबाट खेलाडीहरुको पुन:मिलन भई भाइचारा बढ्ने र क्लवसँगको सम्पर्क र विकासमा थप टेवा पुग्ने वडा नं. १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले बिश्वास ब्यक्त गरेका छन् ।