पहिलोपटक नेपालले नेत्रहीन विश्वकप क्रिकेट खेल्ने

काठमाडौं, १८ पुस । नेपालले पाँचौँ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा पहिलोपटक सहभागिता जनाउँदै छ । टी–२० विश्वकपको अनुभव बटुलिसकेको नेपालले एकदिवसीय क्रिकेटमा भने पहिलोपटक पाइला टेक्न लागेको हो ।

टी–२० विश्वकपमा अहिलेसम्म नकआउटचरणमा पुग्न नसकेको नेपालले एकदिवसीय विश्वकपलाई स्मरणीय बनाउने लक्ष्य राखेको छ । ७ देखि २१ जनवरीसम्म सञ्चालन हुने एकदिवसीय विश्वकप पाकिस्तान र दुबईले संयुक्त रूपमा आयोजना गर्दै छन् । नेपालले विगत पाँच महिनादेखि आफ्नो तयारी गरिरहेको नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले बताए ।

चार संस्करणमा आर्थिक कारण

यसअघिका चार संस्करणमा आर्थिक अभावका कारण सहभागिता जनाउन नपाएको संघका अध्यक्ष घिमिरेले बताए । नेपालले योपटक भने सहभागितालाई ठूलो सफलताको रूपमा लिएको छ । सीमित स्रोत–साधनका कारण नेपाली नेत्रहीन क्रिकेट टिम आफ्नो सहभागितालाई नै ठूलो सफलताका रूपमा लिन बाध्य छ । यद्यपि, नेत्रहीन क्रिकेट संघले अपर्याप्त सोतमा आफ्नो छोटो समयको तयारी गरेको थियो । गत भदौमा टिम छनोट गरेको संघले १५ दिन मात्र विशेष क्याम्प राख्न बाध्य भयो । तर, संघ, खेलाडी र स्वयं प्रशिक्षक भने कम लगानी र थोरै समयमै विश्वकपमा आपूmहरूले ऐतिहासिक सफलता देखेको बताउँछन् ।

६ राष्ट्रको सहभागिता

यसपटकको विश्वकपमा सुरक्षाका कारण ६ राष्ट्रको मात्र सहभागिता रहेको छ । दुई देशबीच राजनीतिक रूपमा ठूलो शत्रुता भए पनि भारतले भने पाकिस्तान भ्रमण गर्दै छ । वेस्टइन्डिज, दक्षिण अफ्रिका र इंग्ल्यान्डले भने सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा आफ्नो सहभागिता रद्द गरेका थिए ।

आयोजकले एसियाका राष्ट्रबाहेक अन्य देशको खेल दुबईमा मात्र राखे पनि तीन देशले अन्तिम समयमा भ्रमण रद्द गरेका हुन् । त्यसैले, पनि राउन्ड रोविनमा हुने प्रतियोगितामा नेपालले दुई खेल जित्न सके पनि सेमिफाइनल यात्राको लागि पर्याप्त रहनेछ । नेपाली टिमका प्रशिक्षक रिजन प्रजू र कप्तान कृतन श्रेष्ठ दुवाल पनि नेपालको सेमिफाइनल यात्रा टाढा देख्दैनन् ।

लक्ष्य सेमिफाइनलको

दुई जितले नेपाल सेमिफाइनलमा पुग्ने प्रशिक्षक रिजनको विश्वास छ । ‘यसपटक हामीले धेरै मिहिनेत गरेका छौँ । कमजोर पक्ष ब्याटिङमा पनि निकै सुधार आएको छ,’ रिजनले भने, ‘भारत र पाकिस्तानबाहेक अन्य देशसँगको जित खासै टाढा छैन ।’ यसअघि नेपाल दक्षिण अफ्रिका र न्युजिल्यान्डमाथि जितको रेखा कोर्न सफल भएको उनले बताए । कप्तान कृतन प्रशिक्षकको भनाइमा समर्थन गर्दै भन्छन्, ‘जितका लागि नतिजाभन्दा पनि मिहिनेत आवश्यक हुन्छ । त्यसैले, हाम्रा साथीले उत्कृष्ट गर्न सके सहभागिता यादगार हुनेछ ।’

भारत पहिलो प्रतिद्वन्द्वी

प्रतियोगितामा नेपालको पहिलो खेल भारतसँग छ । भारत प्रतियोगिताको साबिक विजेता हो भने पाकिस्तान उपविजेत हो । सन् २०१२ को टी–२० विश्वकपमा बंगलादेशलाई हराए पनि अहिले उनीहरूले ठूलो फड्को मारेको संघका अध्यक्ष घिमिरेको भनाइ छ । सन् २०१७ को टी–२० विश्वकपमा दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई हराए पनि नेपाल नकआउट चरणमा पुग्न असफल भएको थियो । नेपाल ११ जनवरीमा दुबई प्रस्थान गर्नेछ ।

दुबईको अजमानमा नेपालले चौथो खेल १३ जनवरीमा अस्ट्रेलियासँग खेल्नेछ । अजमानमै १५ जनवरीमा तुलनात्मक रूपमा बलियो श्रीलंकाविरुद्ध नेपालले आफ्नो चुनौती प्रस्तुत गर्नेछ । नेपालले राउन्ड रोविन लिगमा हुने दुई खेलमा जित निकाले अन्तिम चार को यात्रा सहजै तय गर्नेछ ।

पहिलो सेमिफाइनल १७ जनवरीमा अजमान ओभल क्रिकेट मैदान र दोस्रो सेमिफाइनल १८ जनवरीमा अजमानको एमसिसी क्रिकेट मैदानमा हुनेछ । फाइनल खेल भने लाहोरको गद्दाफी स्टेडियममा हुनेछ । यसअघि, सन् १९९६ को पहिलो विश्वकप दक्षिण अफ्रिकाले जितेको थियो ।

त्यसपछि सन् २००२ र २०१४ मा भारतले विश्वकपको उपाधि जित्दा सन् २००६ मा पाकिस्तानले उपाधि आफ्नो बनाएको थियो ।

Loading...