पुष्पा श्रेष्ठले जितिन नेपालका लागि स्वर्ण पदक

काठमाडौं, १८ पुस । नेपालकी पुष्पा श्रेष्ठले अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जितेकी छिन् ।

सोमबारबाट इटहरी रंगशालास्थित कभर्डहलमा सुरु भएको च्याम्पियनसिपमा पुष्पाले महिला ३७ केजी तौल–समूहमा नेपालकै अनुजा परियारलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन् । पहिलो दिनको खेलमा महिला ३५ केजी तौल–समूहमा नेपालकी सावित्रा तामाङ र ४६ केजीमा नेपालकी सिमोन सुनुवारले स्वर्ण जितेका थिए । पुरुष ३३ केजी तौल–समूहमा नेपालका सुजन सिलवालले नेपालकै रोशन चौधरीलाई पराजित गर्दै स्वर्णपदक जिते ।

महिला २९ केजीमा भारतकी नयना ताराले स्वर्ण हात पारिन् । पुम्सेतर्फ नेपालकी पुनम देवकोटा, सिंहा लिम्बू, सुस्मिता तामाङ, रविन गुरुङ, निशा दरनालले स्वर्ण जितेको आइओएफटिसीका प्रतियोगिता डाइरेक्टर दिवाकर महर्जनले बताए । च्याम्पियनसिपमा नेपालसहित अमेरिका, क्यानडा, भारत, बंगलादेशलगायत १२ देशको सहभागिता छ ।

यसअघि, प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री राजेन्द्र केसीले गरेका थिए । उनले काठमाडौंबाहिर अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हुनु गर्वको कुरा भएको बताए । उनले आगामी दिनमा इटहरीबाट पाठ सिकेर अन्य क्षेत्रले पनि यस्ता प्रतियोगिता गर्ने बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले इटहरीमा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप गरेर यो सहरले जस्तोसुकै अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्ने क्षमता प्रस्तुत गरेको बताए ।

विष्टले इटहरीलाई खेलकुदको राजधानीको रूपमा विकास गर्ने बताए । प्रतियोगिता मंगलबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५० हजार र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा ८७ वटा इभेन्टमा सात सय २१ खेलाडीको सहभागिता रहेको प्रतियोगिताका संयोजक राष्ट्र राईले बताए ।

Loading...