ललितपुर । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँ दोबाटोस्थित भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ।
ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गिता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन समितिले सोमबार अनुगमन गर्दा भाटभटेनीमा म्याद उल्लेख नगरिएको तथा मापदण्डअनुसार प्याकेजिङसमेत नगरिएको इम्लीको अचार फेला परेको थियो।
‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज थप गुणस्तर जाँचका लागि पठाई बाँकी अचार जफत गरिएको छ।” सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भनिन्, ‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ बमोजिम १० हजार रुपैयाँ जरिवाना पनि गरिएको छ।’
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार बजार अनुगमन गर्दा सोही बुँदामा पाँच लाखसम्म जरिवाना गर्न सक्ने अवस्था रहेको उपभोक्ता हित संरक्षण मञ्च ललितपुरका अध्यक्ष ध्रुबलाल तण्डुकार बताउँछन् ।सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भने सचेतनाका लागि जरिवाना गरिएको जानकारी गराइन । उनले गल्ती दोहोर्याए जरिवानाको दर बढाउँँने बताइन् ।
त्यस्तै, संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोवाटोको मकवानपुर फष्टफुड र ए टु जेड स्टोरमा समेत अनुगमन गरि देखिएका कमजोरी सुधार्न सचेत गराएको अनुगमन समितिका सदस्य एवं नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले जानकारी गराएका छन् । मकवानपुर फास्टफूडले स्थानीय तहमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको र ए टु जेड स्टोरले मूल्यसूचि नराखेको पाइएको थियो ।
हरेक हप्ता फरकफरक ठाउँमा छड्के बजार अनुगमन गर्दै आएको संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले हात्तीवनस्थित अपार भेजिटेवल सस उद्योगलाई पनि ५० हजार रुपैयाँ जरिवाना गराएको उद्योग तथा वाणिज्य कार्यालय ललितपुरका उद्योग अधिकृत संजय थापाले जानकारी गराएका छन् ।