विशालबजार विरुद्ध नीतिगत भ्रष्टाचारको मुद्दा

काठमाडौं, ३ असार । काठमाडौंको न्यूरोडमा रहेको विशाल बजार कम्पनीका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत भ्रष्टाचारको मुद्दा दायर गरेको छ । कम्पनी लिमिटेडका आठ जना संचालकविरुद्ध अख्तियारले सो मुद्दा दायर गरेको हो । कम्पनी विरुद्ध दायर गरिएको यो मुद्दा आयोगको इतिहासमै पहिलो भएको अख्तितयार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
कूल ९ करोड ७४ लाख ८० हजार ३ सय ६६ रुपैयाँ ३१ पैसा बिगो भराउनुपर्ने मागदाबीसहित जेठ २३ गते आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । संचालकहरुले व्यक्तिगत रुपमा अनुचित लाभ लिन कम्पनीको विनियमावली नै आफू अनुकूल बनाएर नीतिगत भ्रष्टाचार गरेको आयोगको ठहर छ ।
कम्पनीका व्यापारिक कोठा तथा खुला भाग बहालमा लिनेले प्रत्येक दुई वर्षमा चालू भाडाको १० प्रतिशतका दरले वृद्धि हुने भाडा बुझाएमा आफुले लिने कोठा तथा खाली भाग अनन्तकालसम्म स्वतः हुने प्रावधान संचालकहरुले कम्पनीको विनियमावलीमा राख्नु नीतिगत भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Loading...