तेरियाले जितिन लिटिल मास्टर्सको उपाधी

काठमाडौं, ७ असार । भारतको टेलिभिजन च्यानल जीटीभीबाट प्रशारण भइरहेको रियालिटी शो डिआइडी लिटिल मास्टर्सको उपाधी नेपालकी तेरिया मगरले जितेकी छन् । लिटिल मास्टर्सको यो तेस्रो उपाधी हो । यसअघिका दुई वटा उपाधी प्रतिस्पर्धामा नेपालीहरुको सहभागिता रहेको थिएन ।
शनिवार राती भएको ग्रान्ड फिनालेमा अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै तेरियाले उपाधी हात पारेकी हुन् । प्रतिस्पर्धामा दोस्रो स्थान दार्जलिङकी अनुष्का क्षेत्रीले हात पारेकी छन् भने तेस्रो स्थान सद्विन सेट्टीले हात पारे ।
यससँगै तेरियाले ५० लाख भारु र एउटा कार जितेकी छन् । दर्शकको अत्यधिक भोट र निर्णायकहरुको उच्च मुल्याङ्नका कारण तेरियाले यो जित हात पारेकी हुन् । तेरिया ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै फाइनलमा पुगेकी हुन् । यसमा १४ वर्षसम्मका बालबालिकाले भाग लिन पाउने व्यवस्था थियो । प्रतियोगितामा करिव ४ लाख जनाले आवेदन दिएका थिए । त्यसमध्ये ४० हजार छनौट भएका थिए भने १७ जना भोटिङ राउण्डमा पुगेका थिए ।
डिआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली प्रतिस्पर्धी हुन् । तेरिया रुपन्देहीको रुद्रपुरकी स्थायी वासिन्दा हुन् । उनले विगत पाँच वर्षदेखि बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा नृत्य सिक्दै अएकी थिइन । उनी रुद्रपुरको पिस ल्यान्ड भुपु सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन् । तेरियाका पिता वैदेशिक रोजगारमा दुवईमा छन् भने आमा तेरिया पढ्ने विद्यालयमै क्यान्टिन संचालन गर्छिन ।
लिटिल मास्टर्स–३ को यो प्रतियोगिता विगत पाँच महिनादेखि चल्दै आएको थियो ।

Loading...