उज्वेकिस्तानी युवतीका लागि काठमाडाैं विमानस्थलमा खतरानाक सेटिङ

काठमाडौं, ३० असार । नेपालको प्रवेशाज्ञा (भिसा) किर्ते गरेर अध्यागमनका कर्मचारीको ‘सेटिङ’ मा भारतको दिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज चढिसकेकी उज्वेकिस्तानी युवती पक्राउ परेकी छन् ।गैरकानुनी ढंगले नेपालमा बिनाभिसा (ओभर स्टे) बसेकी उज्वेक युवती नाजोकात जारिपोरालाई
विमानस्थल अध्यामगनका कर्मचारीले गत सोमबार जेट एयरलाइन्सबाटै पक्रेका हुन् । जारिपोराले नेपालको भिसामा किर्ते गरेर मिति सच्याएकी थिइन् ।

उनलाई अध्यागमनकै कर्मचारीले गोप्य रूपमा डिपार्चर दिएको सूचना पाएपछि अन्यले पक्राउ गरेका हुन् । उनलाई डिपार्चर दिने अधिकृतको पहिचान भए पनि अध्यामगनले नाम गोप्य राखेको छ । गैरकानुनी ढंगले बसेबापत उनले भिसा र विलम्ब शुल्कको झन्डै ७ लाख र ओभर स्टेको ५० हजार रुपैयाँ जरिवाना छल्न सेटिङमा उज्वेकिस्तान जान लागेकी थिइन् । उनले एक ट्राभल एजेन्सीका कर्मचारीमार्फत विमानस्थलमा सेटिङ मिलाएको स्रोतले जनाएको छ ।

विमानस्थलस्थित अध्यागमन प्रमुख होमनाथ थपलियाले डिपार्चर दिइएपछि शंका लागेर उज्वेक युवती जारिपोरालाई पक्राउ गरिएको जानकारी दिनुभयो । ‘शंका लागेर पक्राउ गर्‍यौं, सामान्य आँखाले देख्न नसक्ने गरी भिसामा किर्ते गरेको भेटियो’, विमानस्थलका अध्यागमन प्रमुख थपलियाले अन्नपूर्णसँग भन्नुभयो, ‘कसैको मिलेमतोमा त्यस्तो भएजस्तो मलाई लाग्दैन । प्रविधिसमेत गतिला छैनन्, केही त्रुटि भएको हुन सक्छ । अनुसन्धान भइरहेको छ ।’

जारिपोराले केही दिनअघि अध्यागमन विभाग गएर आफू उज्वेकिस्तान फर्कन लागेको भन्दै सहयोग गर्न आग्रह गरेकी थिइन् । अध्यागमनका अधिकारीले भिसा, विलम्ब शुल्क र ओभर स्टेबापतको रकम तिर्नुपर्ने भनेपछि उनले त्यति धेरै रकम तिर्न नसक्ने बताएकी थिइन् । विभागका अधिकारीले रकम नतिरे उज्वेकिस्तान जान नपाउने भनेपछि उनी पैसा लिन भन्दै निस्किएकी थिइन् । त्यसपछि विभाग नआई उनी एक ट्राभल एजेन्सी पुगेको खुलेको छ । ट्राभलकै कर्मचारीले सिधै विमानस्थल अध्यामगनमा सेटिङ गरी तीन लाखको मोलमोलाइ मिलाएपछि उनी विमानको सिटसम्म पुग्न सफल भएको स्रोतले जनाएको छ ।

सन् २०१३ मा नेपाल आएकी उनले सुरुमा ९० दिनको भिसा लिएकी थिइन् । उनको राहदानीमा भारतको भिसासमेत छ । उनी नेपालमा ओभर स्टे रहँदा के व्यवसाय गर्थिन् भन्ने खुलेको छैन । नेपालको भिसा नै नभएकी युवतीलाई बोर्डिङ पास दिने जेट एयरलान्इस र डिपार्चर दिने अध्यागमनका कर्मचारीले उनलाई सेटिङ गरेर जहाज चढाउने चाँजोपाँजो मिलाएको स्रोतले जनाएको छ ।

उपराष्ट्रपति नन्दकिशोर पुन चीन भ्रमणबाट फर्किने क्रममा सोमबार झन्डै आधा घन्टा सबै उडान विमानस्थलमा रोकिएका थिए । जेट एयर पनि उपराष्ट्रपति पुनको फिर्ती सवारीले केही बेर रोकिएको थियो । त्यही क्रममा ती उज्वेक युवतीका बारेमा अध्यागमन कार्यालयमा हल्लीखल्ली भएको थियो । राहदानी नम्बरबाट जाँच गर्दा उनको डिपार्चर भइसकेको देखिएपछि अध्यागमनका कर्मचारी उनलाई खोज्न तम्सिएका थिए । केहीबेर विमान नरोकिएको भए उनी सजिलै दिल्ली प्रस्थान गर्ने थिइन् ।

गृहमन्त्री जनार्दन शर्माले आफ्नो मार्गचित्रमा विभागको स्तरोन्नतिलाई प्राथमिकतामा राखे पनि विमानस्थलका कर्मचारीको प्रवृत्तिमा परिवर्तन आउन सकेको छैन । दलालले विमानस्थलका प्रहरी, एयरलाइन्स र अध्यागमनका कर्मचारीसँग गहिरो आर्थिक सम्बन्ध बनाएको स्रोतले जनाएको छ । मन्त्रालय र विभागकै उपल्लो तहका कर्मचारीले गल्ती गर्नेलाई कारबाही गर्नुको सट्टा ढाकछोप गरिदिनाले विमानस्थल अध्यागमनमा बेथिति बढ्दो छ। अन्नपूर्ण पाेष्टबाट

Loading...