एमाओवादी चर्को आर्थिक संकटमा

काठमाडौं, ५ असार । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खर्च धान्न नसकेपछि चढ्दै आएको गाडी बेचेर सार्वजनिक यातायत प्रयोग गर्न थालेका छन् । उनको यो सांकेतिक अभियान भएपनि एमाओवादीमा आर्थिक संकटको जनाउ यसले दिएको छ ।
उनको यो शैलीलाई पार्टीभित्रै कतिपयले सस्तो प्रचार भनेपनि खर्च अभावले नेताहरु छटपटिन थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
संविधानसभामा तेस्रो पार्टीमा झरेपछि एमाओवादीको वैधानिक आम्दानी ह्वात्तै घटेको हो । पहिलो संविधानसभामा २ सय ४० सभासदबाट मासिक १० हजारका दरले लेबी लिइन्थ्यो । हाल ८० सभासदबाट मासिक १२ हजार लिइन्छ ।
उसको देखिने आम्दानी यति मात्र हो । यो रकम केन्द्रीय कार्यालय र कार्यरत कर्मचारीका लागि खर्च हुन्छ । कहिलेकांही केही नेतालाई खर्च पनि दिइन्छ तर अधिकांश नेताले खर्च आफै व्यवस्थापन गर्दै आएका छन् । निर्वाचनमा पार्टी तेस्रो भएपछि आर्थिक स्रोत सुक्दै गएको छ, स्रोतले भन्यो ।
संविधानसभाको पहिलो पार्टी हुदाँ र सरकारमा रहँदा उसको आम्दानी ठूलै हुन्थ्यो । पार्टी, नेता कार्यकर्ता सबैलाई फालाफाल खर्च पुग्ने अवस्था थियो । नेताहरुको जीउमा ब्रान्डेड सामान हुन्थ्यो , खानपान महँगा होटल,रेस्टुरेन्टमा हुन्थ्यो । त्यो बानी अहिलेसम्म हटेको छैन्, तर नेताहरुको आम्दानी घट्दै गएको छ ।

Loading...