काठमाडाैं, ८ पुस । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा प्रहरीको गोलीबाट मृत्यु भएका विवेक एेडीलाई सहिद घोषणा गर्न माग गरेको छ ।
नेकपाका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति निकालेर जायज माग राखेर कालिकोटमा अान्दोलनमा उत्रेका म्यादी प्रहरीको अान्दोलनप्रति पार्टीको एक्यवद्धता जाहेर गरेका छन् । प्रबक्ता प्रकाण्डले एेडीमाथि गोली चलाउनेलाई परिवारलाई राहतको साथै घाइतेको उपचारको लागि पनि माग गरेका छन् ।
विना कुनै छलछाम, षड्यन्त्र र भेदभाव म्यादी प्रहरीको तलव-सुविधा यथाशक्य व्यवस्थान नेकपाले विशेष माग समेत गरेको छ ।
“गोलीकाण्डका विरुद्ध संघर्षरत म्यादी प्रहरीहरुले आफ्ना जायज माग सहित जारी राखेको संघर्षप्रति पार्टी ऐक्यवद्धता जाहेर गर्दछ । साथै जारी आन्दोलनप्रति समर्थन रहने कुरा समेत स्पष्ट गर्न चाहन्छ । म्यादी प्रहरीहरुको तलव र सुविधाबारे देशैभरी उठिराखेको समस्याप्रति हाम्रो पार्टी गम्भीर भएको छ । सरकारले विना कुनै छलछाम, षड्यन्त्र र भेदभाव म्यादी प्रहरीको तलव र सुविधाको यथाशक्य व्यवस्था गर्न विशेष माग गर्दछ” विज्ञप्तिमा भनिएकाे छ ।
यस्ताे छ विज्ञप्तिको पूर्णपाठः
प्रेश विज्ञप्ती
हिजो दिउसो कालिकोट जिल्लाको सदरमुकाम मान्ममा म्यादी प्रहरी र जिल्ला प्रशासनबीच झडप भइ घटेको घटनाबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।
१) कथित संघ र प्रदेशको चुनावको नाममा भर्ती गरिएका म्यादी प्रहरीको तलवको विषयलाई लिएर जिल्ला प्रशासनसँग भएको विवादको क्रममा झडप हुँदा प्रहरीले चलाएको गोलीबाट कालिकोट जिल्ला सिप्खाना, रातखालका म्यादी प्रहरी जवान विवेक ऐडीको मृत्यु र दुई दर्जन भन्दा बढी घाइते हुनेगरी घटाइएको घटनाप्रति हाम्रो पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ । उक्त घटनाको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । मृतक विवेक ऐडीप्रति पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै उहाँका आफन्तजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
२) मान्म गोलीकाण्डका दोषिहरुमाथि कडा कारवाही गरी मृत्युवरण गर्ने विवेक ऐडीलाई सहिद घोषणा, उहाँका परिवारलाई राहतको व्यवस्था, म्यादी प्रहरीको पूर्व तोकिएको तलबको व्यवस्था र घाईतेको यथाशक्य उपचारको व्यवस्था गर्न सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ ।
३) गोलीकाण्डका विरुद्ध संघर्षरत म्यादी प्रहरीहरुले आफ्ना जायज माग सहित जारी राखेको संघर्षप्रति पार्टी ऐक्यवद्धता जाहेर गर्दछ । साथै जारी आन्दोलनप्रति समर्थन रहने कुरा समेत स्पष्ट गर्न चाहन्छ ।
४) म्यादी प्रहरीहरुको तलव र सुविधाबारे देशैभरी उठिराखेको समस्याप्रति हाम्रो पार्टी गम्भीर भएको छ । सरकारले विना कुनै छलछाम, षड्यन्त्र र भेदभाव म्यादी प्रहरीको तलव र सुविधाको यथाशक्य व्यवस्था गर्न विशेष माग गर्दछ । धन्यवाद ।
८ पुस २०७४
प्रकाण्ड
प्रवक्ता
नेपाल कम्युनिस्ट पार्टी