सरकारका काम सफलतातर्फ उन्मुखः महासचिव पौडेल

बुटवल, १७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठपर्वको अवसरमा आज रुपन्देहीको मणिग्राममा आयोजना गरेको शुभकामना कार्यक्रममा उनले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले आवधिक समीक्षासहित सरकारका काम कारवाहीलाई आगामी दिनमा अझै प्रभावकारी ढङ्गले परिचालित गर्ने योजना बताएको समेत बताए ।

महासचिव पौडेलले वर्तमान सरकारलाई कुनै पनि अवस्थामा असफल हुने छुट नरहेको उल्लेख गर्दै सरकार असफल भए राष्ट्रकै जीवनमा एकसाथ अनेक संकट आउँछन् भने ।

कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएको भन्दै उनले सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको कुनै अर्थ नरहेको बताए । महासचिव पौडेलले बुटवल, तिलोत्तमा र सिद्धार्थनगरलाई मेगासिटीको रुपमा विकास गरिने उल्लेख गर्दै यस क्षेत्रमा सञ्चालित विकासका ठूला आयोजना सम्पन्न भएपछि आमूल परिवर्तन आउनेसमेत बताए ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य छविलाल विश्वकर्माले सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजान र गलत भएको भए खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे । नेकपाले प्राप्त गरेको सफलताबाट अत्तालिएकाले सरकारका विरुद्ध भ्रम फैलाउने कोसिस भइरहेकोसमेत उनले बताए ।

नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पङ्क्तिमा उत्साह थपिएको उल्लेख गरे ।

Loading...