विप्लवका कार्यकर्ताले सत्तारुढ नेकपाका नेतामाथि रापानी भिरमा गरे आक्रमण, गाउँ पस्न रोक लगाइएको चेतावनी

जाजरकोट, ६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुमाथि विद्रोही नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका छन् ।

जाजरकोटको पूर्वी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकामा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्य र डम्बरबहादुर सिंहमाथि आक्रमण भएको हो । जिल्ला पार्टीले तय गरेको राजनैतिक प्रशिक्षण कार्यक्रमका लागि आज बिहान बारेकोट जाँदै गर्दा उनीहरुमाथि बारेकोटको लैखमको रापानी भिरमा आक्रमण गरिएको हो । आक्रमणबाट नेता आचार्य र सिंहको खुट्टामा चोटपटक लागेको बताइएको छ ।

आक्रमणपछि नेपाल पत्रकार महासंघ जाजरकोटका कोषाध्यक्ष दिपबहादुर घर्तीसँग कुरा गर्दै नेता डम्बर सिंहले आफूहरुमाथि आक्रमण गरिएको जानकारी दिएका हुन् । उनले विप्लव नेतृत्वको नेकपाका पाँच जना कार्यकर्ताहरुले निकै अप्ठेरो भिरमा आक्रमण गरेको जानकारी दिए । उनले भने, “लाठी बोकेर बसेका विप्लवका कार्यकर्ताले बारेकोटमा प्रवेश गर्न नदिने भन्दै निकै भिरालो ठाउँमा आक्रमण गरे । त्यस्तो भिरालो ठाउँमा हामीले प्रतिवाद गर्ने कुरा भएन । त्यसैले हामी त्यहाँबाट फर्केका छौं ।”

नेता सिंहले आजै बारेकोटको लिम्सामा गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम राखेको र त्यसकै लागि आफूहरु त्यसतर्फ जान लागेको जानकारी दिए । विप्लवका कार्यकर्ताले आफ्नो पार्टीका नेता कार्यकर्तालाई देशभर धरपकड गरिएको, गिरफ्तार गरेर जेल राखिएकोले सत्तारुढ दलका नेताहरुलाई गाउँ पस्न नदिने बताएका थिए । साथै उनीहरुले सो क्रममा आफ्नो पार्टीले सरकारी पार्टीलाई गाउँमा कुनै गतिविधि गर्न नदिने पनि चेतावनी दिएका थिए ।

नलगाढ नगरपालिका र बारेकोट गाउँपालिकाको सीमा नजिक पर्ने रापानी भिर निकै भिरालो रहेको छ । त्यस क्षेत्रमा अहिले नलगाढ जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माणको काम धमाधम चलिरहेको छ ।

Loading...