सिडिओको आदेशले नेकपाका पोलिटब्यूरो सदस्य कार्की रिहा

काठमाडौं, २१ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त रिहा भएका छन् । साढे चार महिना हिरासतमा राखेर उनलाई रिहा गरिएको हो ।

कार्की गत चैत १ गते ललितपुरको आफ्नै निवासबाट पक्राउ परेका थिए । बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गर्दै विभिन्न जिल्लामा घुमाउँदै आएको थियो । पछिल्लो समय उनीमाथि प्रहरीसँग अभद्र व्यवहार गरेको भन्ने आरोप लगाएर काठमाडौं जिल्ला प्रहरी कार्यालय टेकुको हिरासतमा राखिएको थियो । दुई दिन अघि जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उनलाई छोड्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन् ।

कार्कीलाई एक वर्ष अघि पनि प्रहरीले पक्राउ गरेर लामो समय हिरासतमा राखेको थियो । विभिन्न रोगले कमजोर स्वास्थ्य भएका कार्कीका परिवारले उनको रिहाइका लागि कानुन व्यवसायी, मानवअधिकारकर्मी, नागरिक समाज सबैलाई आग्रह गरेका थिए ।

विद्रोही नेकपाभित्र कार्की सुरुदेखि नै वार्ता र संवादको पक्षमा रहेका नेता मानिन्छन । केही दिन अघि मात्र उनले टेकु हिरासतबाटै आफू सधै वार्ताको पक्षधर रहेको र यो समस्या वार्ताद्वारा नै समाधान हुनुपर्ने भन्दै सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए । सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै कार्कीले आफूले वार्ताको पहल गर्ने पनि बताएका थिए ।

सरकारले नेकपाका अन्य धेरै नेताहरुलाई भने जेल पठाइसकेको छ । जेल पठाइएका मध्ये हेमन्तप्रकाश ओली सुदर्शन उच्च तहका नेता हुन् । त्यसैगरी अर्का पोलिटब्यूरो सदस्य भरत वम रणविर बाँकेको कोहलपुर प्रहरी हिरासतमा राखिएका छन् । त्यसैगरी केन्द्रीय सदस्यहरु माइला लामा र बन्धु चन्द जेलमै छन भने वसन्त श्रेष्ठ लगायतका नेताहरु पनि प्रहरी नियन्त्रणमै छन् ।

पछिल्लो समय प्रहरीले केही केन्द्रीय सदस्यहरुलाई भने रिहा गरेको छ । यसअघि चुडामणी ओली आदर्श, चन्द्रबहादुर खड्का असललाई पनि रिहा गरेको थियो । सुनसरीबाट कार्की, ओली र खडकालाई रिहा गरिए पनि प्रहरीले कार्कीलाई पुनः पक्राउ गरी नुवाकोट पुर्याएको थियो । तर, खडका र ओलीलाई भने रिहा गरेको थियो ।

पक्राउ परेर रिहा गरिएका मध्ये कार्की उच्च तहका नेता हुन् । यसले विद्रोही नेकपासँग वार्ताको पक्षमा सकारात्मक वातावरण बन्न सक्ने सरकारी अधिकारीहरुको भनाई छ ।

Loading...