मुग्लिङ । आज बिहान त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैको पहिचान खुलेको छ । गोरखामा किरिया पुत्री बस्न जान लागेकाहरु सवार ट्याक्सी त्रिसुलीमा खसेको थियो ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिए ।
मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।
सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको डिएसी भण्डारीले जानकारी दिए।