काठमाडौँ । आजदेखि माध्यमिक शिक्षा परीक्षा ( एसईई) शुरु भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा विहान ८ बजेबाट शुरु भएको हो ।
पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा हुदैछ । एसईईलाई व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जनाएका छन् ।
बोर्डका अनुसार सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुदै छन् ।
कूल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुदै छन् ।
त्यस्तै परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ जसमा सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक केन्द्र तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।