लमजुङमा अनेसास दर्पण (राष्ट्रकवि विशेषाङ्क) को गृह लोकार्पण

२०८० ।१२।१०। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन रहेको अनेसास दर्पण (राष्ट्रकवि विशेषाङ्क)को लमजुङ्ग घनपोखरामा गृहलोकार्पण भएको छ ।

ठाडो भाका लोक कला प्रतिष्ठानको आयोजनामा वेदान्त शिरोमणि डिल्लीजङ्ग गुरुङको शालिक अनावरण तथा खुला कविता प्रतियोगिताको अवसरमा अनेसास दर्पण राष्ट्रकवि विशेषाङ्कको लोकार्पण भएको हो ।

प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गुरुङ, विशिष्ट अतिथि संविधानसभा सदस्य तथा गण्डकी प्रदेशका प्रतिनिधिसभा सदस्य भेषराज पौडेल, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी. निवर्तमान महासचिव ऋषभदेव घिमिरे, निवर्तमान उपाध्यक्ष दिव्य गिरी, प्रा.डा. ज्ञाननिष्ठ ज्ञवालीलगायत मञ्चासीनहरुले कृति लोकार्पण गरेका थिए ।

उक्त कार्यक्रममा अनेसास दर्पणको राष्ट्रकवि विशेषाङ्कका साथै मेदिनीप्रसाद सुवेदीद्वारा लिखित कृति “मेरा गुरु डिल्लीजङ्ग” र ठाडो भाका लोककला प्रतिष्ठानको स्मारिकाको संयुक्त लोकार्पण गरिएको थियो ।

राष्ट्रकविको जन्मथलोमा आएर अनेसास दर्पण राष्ट्रकवि विशेषाङ्क लोकार्पित गर्न पाउनु गौरव र हर्षको अनुभूति भएको कुरा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालले बताए । यसभन्दा अघि उक्त विशेषाङ्कको भर्च्युअल लोकार्पण अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, वर्तमान अध्यक्ष गोवर्धन पूजा, व. महासचिव विमला निरौला यस विशेषाङ्कका प्रधान सम्पादक लालगोपाल सुवेदी आदिले एक कार्यक्रमको माध्यमबाट गरेका थिए ।

कार्यक्रममा ठाडो भाका लोककला प्रतिष्ठानद्वारा नेपाली भाषा सहित्य तथा लोककलाको प्रवर्द्धनका लागि अनेसास, नेपाल च्याप्टरले गरेका कार्यहरुको उच्च प्रशंसा गर्दै  च्याप्टरलाई सम्मान गरिएको थियो ।

नेपाललगायत विभिन्न मुलुकहरुमा “साहित्यका लागि पर्यटन काव्ययात्रा” कार्यक्रम गरिरहेको अनेसास नेपाल च्याप्टरले ठाडो भाका लोककला प्रतिष्ठानको सहकार्यमा गत २ वर्षअघि राष्ट्रकविको गाउँ बाहुनडाँडा, लमजुङमा यस कार्यक्रम गरेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा साहित्यका लागि पर्यटनयात्राका परिकल्पनाकार तथा अनेसास निवर्तमान महासचिव ऋषभदेव घिमिरे र अनेसास निवर्तमान उपाध्यक्ष दिव्य गिरीलाई सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा ठाडोभाका लोककला प्रतिष्ठानले आयोजना गरेको प्रथम खुला कविता प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण गरिएको थियो भने उपस्थित प्रतियोगी तथा अप्रतियोगी कविहरुले काव्य रचना वाचन गरेका थिए ।

कार्यक्रमको पूर्वसन्ध्यामा ठाडोभाका लोक गीत प्रस्तुत गरी अतिथिहरुलाई स्वागत गर्दै मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो ।
वेदान्त शिरोमणि डिल्लीजङ गुरुङका कान्छा सुपुत्र गोपाल गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रमलाई ठाडो भाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा पूर्व झापादेखि पश्चिम बैतडी, रोल्पालगायत विभिन्न स्थानबाट उपस्थित भएका थिए भने काठमाडौंबाट अनेसास नेपाल च्याप्टरको नेतृत्वमा उल्लेख्य संख्यामा साहित्यकारहरुको उपस्थित रहेको थियो । अध्यक्ष राजेन्द्र केसी, निवर्तमान महासचिव ऋषभदेव घिमिरे, अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, प्रा. डा. ज्ञाननिष्ठ ज्ञवाली, दिव्य गिरि, अनेसास पोर्चुगल च्याप्टरका सचिव गोमा रेग्मी, मिना चौलागाइँ, कल्पना भट्टराई, पार्वती भट्ट, दिपक ढुङ्गाना, विमुन्स पौडेल, राधिका अधिकारी उपन्यासकार कल्पना खरेललगायत साहित्यकारहरुको बाक्लो उपस्थित रहेको थियो

Loading...