पक्राउ परेका पूर्व सभामुख महरा अस्वस्थ, नर्भिकमा उपचार हुँदै

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरा बिरामी भएकाले अस्पताल भर्ना भएका हुन् ।

महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई नर्भिक अस्पताल भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताएका छन् । अस्वस्थ भएकाले नर्भिक अस्पतालमा महराको उपचार भैरहेको उनको भनाइ छ ।

जिल्ला अदालत काठमाडौंले महरालाई चार दिन हिरासतमा राख्न समेत अनुमति दिएको एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताएका छन्  । तर, महरा अस्वस्थ भएकाले पहिले अस्पतालमा उपाचार गराउन अदालतले आदेश दिएपछि अस्पताल भर्ना गरिएको बताइएको छ । उनलाई के भएको भन्नेबारे भने खुलिसकेको छैन।

६० किलो सुन तस्करीमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको सीआईबीले बताएको छ । रुपन्देहीको भैैरहवाबाट सोमबार पक्राउ परेका उनलाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो ।

यस अघि पनि महरा जवर्जस्ती करणी प्रयासमा पक्राउ परेका थिए र अदालतले आरोप पुष्टि नभएको भन्दै उनलाई सफाई दिएको थियो ।

Loading...