महराको पक्षमा २०, विपक्षमा चार जना वकिल, यी हुन पक्ष र विपक्षमा बहस गर्ने वकिल

काठमाडौँ । संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा सरकारी वकीलका तर्फबाट बहस सकिएको छ भने महराको पक्षमा लवप्रसाद मैनालीले मात्र बहस गरेका छन् ।

महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएको र समयाभावका कारण थुनछेकबहसलाई सोमबारपनि निरन्तरता दिइने भएको हो । नेपाल सरकारको तर्फबाट भने आज ४ जनाले बहस गरेका छन् ।

उता महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् । जिल्ला अदालत काठमाडौँ स्रोतबाट प्राप्त जानकारी अनुसार महराको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा करिब २० जना अधिवक्ताहरुले रुची देखाएका हुन् ।

जसमा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेर बहादुर केसी तथा वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराललगायत रहेका छन् । जसमा मैनालीले मात्रै आज बहस गरेका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधिवक्ता चन्द्रकान्त खनालका अनुसार नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतले प्रतिवादीलाई सोमबार १० बजे पुन अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

Loading...