महरामाथि प्रहरीका आरोपै आरोप, अनुसन्धानबाट भेटायो यस्तासम्म कुरा

रोशनी र महरा दुबैले मोवाइल सेट दिन नमानेको प्रहरीको आरोप, महराले प्रहरीलाई भने, रिसको झोकमा मोवाइल फुटाइदिए

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। यसअघि अनुसन्धानका लागि म्याद थप गराउँदै आएको प्रहरीले बिहीबार अनुसन्धानको पूरा प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रहरीको प्रतिवेदन पाएपछि सरकारी वकिलको कार्यालयले बिहीबार नै महराविरुद्ध कडा सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ ।

प्रहरीले महराका विरुद्ध तयार पारेको ३६ पृष्ठ लामो आरोप पत्रमा धेरै तथ्यहरु प्रस्तुत गरेको छ । प्रहरीले आजै मुद्दा दर्ता गरेर आफ्नो अनुसन्धानको प्रतिवेदन बुझाए पनि उनीमाथि आजै थुनछेकको बहस र बयान भने भएन । यसअघि महराको मुद्दाको थुनछेक बहस आजै हुने भनिएको थियो । आज बहस र बयान हुन नसकेपछि महरालाई अदालतमा पेश गराएर प्रहरीले हिरासतमै फर्काएको छ । आज हुने बहसपछि उनलाई धरौटीमा रिहा गर्ने वा पुर्पक्षको लागि थुनामा राख्ने अदालतले निर्णय गर्ने बताइएको थियो ।

प्रहरीले तयार पारेको प्रतिवेदनमा महरामाथि कैद तथा जरिवाना हुनुपर्ने निष्कर्ष निकालिएको छ । २० दिन लामो अनुसन्धानबाट महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी उद्योग गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीको आरोपपत्रमा महरा असोज १२ गते साँझपख ५ जना सुरक्षाकर्मीसहित संसद सचिवालयमा कार्यरत रोशनी शाहीको कोठामा गएको उल्लेख गरिएको छ । त्यहाँ जाँदा महरा आफैले ‘रक्सीको बोत्तल’ बोकेर पुगेको पनि प्रहरीको आरोप पत्रमा उल्लेख गरिएको छ ।

आरोप पत्रमा भनिएको छ, ‘राज्यको उच्च ओहोदामा पुगेका महराले कुनै हेक्का नराखी राज्य र आमनागरिक समेतका हकमा पर्ने असर समेतलाई ख्याल नगरी सोको संवेदनशीलताप्रति वेवास्ता गरी, केही सुरक्षाकर्मी मात्र लिई साँझ मादक पदार्थ सेवन गरी, साथमा रक्सी रहेको बोत्तल आफ्नो साथमा लिई, पीडित एक्लै रहेको निजको डेरामा गई निजलाई जबरजस्ती मादक पदार्थ सेवन गर्न कर लगाई गराई अनुचित प्रभावमा पारी पीडितलाई जबरजस्तीकरणी गर्न खोजेको ।’

उक्त दिन महरा रोशनीको तीनकुनेस्थित सुविधानगर कोठामा पुग्दा उनकै साथमा नेपाल प्रहरीका दुई जना असई, एक जना नेपाली सेनाका जमदार, एक प्रहरी हवल्दार र एक सशस्त्र जवान पनि साथमै गेटसम्म गएको आरोप पत्रमा उल्लेख छ ।

प्रहरीको आरोपपत्रमा रोशनी शाहीकी घरबेटीले बयान दिन इन्कार गरेको बताइएको छ । प्रहरीको आरोप पत्रमा त्यस्तै पीडक र पीडित दुवैले मोबाइल सेट दिन इन्कार गरेको समेत उल्लेख छ ।

प्रहरी समक्ष आरोपित महराले रिसको झोकमा आफूले मोबाइल फुटाइदिएको बताएका छन् । यद्यपी आरोपितको हकमा मोबाइल सेट जफत गर्न सकिने कानुनी व्यवस्था छ ।

प्रहरीले रोशनीको कोठाबाट बरामद गरेको चस्मा र हाल महराले लगाइरहेको चस्माको पावर मिलेको आरोप पत्रमा उल्लेख गरेको छ । आरोपपत्रमा चस्माको पावर प्लस २.७५ भएको डी विस्फोकल रहेको उल्लेख छ ।

त्यसैगरी महराको डीएनए परीक्षणको लागि अस्पताललाई पत्र पठाए पनि अस्पतालले स्याम्पल नपठाएको आरोपपत्रमा उल्लेख गरिएको छ ।

बिहीबार दायर गरिएको मुद्दामा महरालाई मुलुकी फौजदारी संहिता २०७४ को बलात्कार प्रयाससम्बन्धी कसूरमा कैद तथा सजायको माग गरिएको छ । स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा सार्वजनिक पदमा रहेर महरा बलात्कारजस्तो जघन्य अपराधमा संलग्न भएकाले त्यसउपर पनि थप कारबाही माग गरिएको छ ।

प्रहरीको सोही प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले बिहीबार उनीविरूद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । मुलुकी अपराध संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ। अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी युवती वा महिला भए सात वर्षदेखि दस वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। जबरजस्ती करणी उद्योग गरेको भए त्यसको आधा सजाय हुने व्यवस्था मुलुकी अपराध संहितामा छ।

महरालाई त्यसको आधा सजाय अर्थात् साढे तीनदेखि ५ वर्षसम्म सजाय मागदाबी गर्न सकिन्छ। महरा सार्वजनिक पदाधिकारी भएकाले डेढ वर्ष थप सजाय हुनसक्ने बताइन्छ । करणी उद्योगमा साढे तीनदेखि साढे पाँच वर्षसम्म कैद हुन्छ। कसूर प्रमाणित भए साढे सात वर्षसम्म कैद हुन सक्ने कानुनविद बताउँछन । सोही अनुसार सरकारी वकिल कार्यालयले यी दुवै कसूर जोडेर पाँचदेखि ७ वर्षसम्म कैद सजाय हुनुपर्ने मुद्दामा उल्लेख गरेको छ ।

महरालाई प्रहरीले असोज १९ गते पक्राउ गरेर सिंहदरवारस्थित प्रहरी हिरासतमा राखेको थियो । केही दिन प्रहरी हिरासतमा बसेपछि अस्वस्थ भएपछि उनको प्रहरीकै निगरानीमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । बिहीबार आरोपपत्र दर्ता भएको र अब शुक्रबारबाट महराको बयान लिन सुरु गरिने बताइएको छ ।

Loading...