चुनावमा जुटेका नेताहरु राजधानी छिरेपछि गाउँका युवाहरु काम खोज्न भारत लाग्दै

अछाम, ४ पुस । अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे । दसैं–तिहारसँगै खेतीको काम कात्तिकमै सकिए पनि यस पटक चुनावका कारण ढिलोसम्मै घर बसे । नयाँ जनप्रतिनिधि चुनेपछि उनी छिमेकी युवासहित काम खोज्दै फेरि भारत पसेका हुन् ।

‘भोट हालेर काम खोज्न हिँड्यौं,’ दिल्ली जान लागेका विकले भने, ‘गहुँ छरेर कात्तिकमै जाने मन थियो, गाउँका नेताले चुनाव आउनै लाग्यो । भोट हालेर जाऊ भनेकाले रोकियौं ।’ १० वर्षीय स्कुले छोरासँगै छन् । १२/१३ वर्षकै उमेरदेखि भारत जान थालेका विकलाई चुनाव भन्नेबित्तिकै जितेका नेताहरूले केही काम गर्छन् कि भन्ने आस पनि लाग्छ । उनको मनमा गाउँमा सडक, स्कुल र स्वास्थ्यचौकीजस्ता भौतिक संरचना निर्माण हुँदा मजदुरी गर्न पाइन्छ कि भन्ने आस पनि छ ।

नेताहरूले पनि हरेक निर्वाचनमा रोजगारीको अवसर खोजिने आश्वासन दिँदै आएका छन् । तर, अवस्था भने अझै उस्तै रहेको विकले बताए । ‘गाउँमा भोट माग्न जाँदा अब भारत गइरहनु पर्दैन भन्छन्,’ उनले भने, ‘चुनाव जितेपछि नेताहरू काठमाडौं लाग्छन्, हामी काम खोज्दै भारत पस्छौं ।’

उनी दिल्लीमा चौकिदारीसँगै गाडी धुने काम गर्छन् । चौकिदारीबाट मासिक ५/६ हजार कमाइ हुन्छ । गाडी धोएको पारिश्रमिक मासिक २/३ हजार पाइन्छ । यस पटकको चुनाव फरक खालको भएकाले कतिपय कामदारलाई भने अब केही हुन्छ कि भन्ने आस पनि छ । ‘यस्तै अवस्था कहिलेसम्म रहला र ?’ शनिबार भारत पसेका जाजरकोटका रति विकले भने, ‘भोट माग्दा नेताहरूले पनि रोजगारी दिन्छौं भनेका छन् ।’

हरेक दिन साँझ र बिहानको समयमा सीमा क्षेत्रमा कामको खोजीमा भारत पस्नेको लर्काे देखिन्छ । चाडपर्व र खेतीको काम सकिएपछि बर्सेनि यसैगरी काम खोज्न जानेको संख्या ठूलो हुन्छ । ‘हिउँदभरि काम गरेर गहँु काट्न घर फर्किन्छौं,’ अछाम रामारोशनकै खडक विकले भने, ‘काम राम्रो पाइए दसैंसम्म उतै बस्न सक्छौं ।’

Loading...