विद्युत प्राधिकरणलाई तार काटेकोमा आइस्पानले दियो यस्तो चेतावनी

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले पोलभाडाको निहुँमा विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकहरुका डेटा सेन्टर, पीओपीमा प्रयोग भइरहेको विद्युत लाइन काटेको भन्दै जुनसुकै बेला इन्टरनेट सेवा अबरुद्ध हुने चेतावनी इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले दिएको छ।

इन्टरनेट सेवा प्रदायकहरुका घरबेटी समेतको विद्युत लाइन काटिएको भन्दै आइस्पानले इन्टरनेट प्वाइन्टबाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको जनाएको छ।

यता इन्टरनेट सेवा प्रदायकहरुले भने आफूले प्रयोग गरेका पोलहरु स्वघोषणा गरी प्राधिकरणमा बुझाएको दाबी गरेका छन्। प्राधिकरणले गत असोजमा भरतपुरमा इन्टरनेट सेवा अवरुद्ध भएपछि नेपाल दूरसंचार प्राधिकरण र संचार मन्त्रालयको सहजीकरण पछि उच्चस्तरीय समिति गठन भएको थियो।

उक्त समितिले ‘विद्युतिय पोल प्रयोग तथा सोको भुक्तानी एवम् उपभोग सम्बन्धमा सिफारिस गर्न गठित समितिको प्रतिवेदन’ दिएको थियो। विभिन्न मन्त्रालयका अधिकारीले उक्त प्रतिवेदनलाई स्वीकार गरिसकेको अवस्थामा प्राधिकरणले प्रतिवेदन कार्यान्वयन नगरेको आरोप आइस्पानको छ।

‘प्रतिवेदन कार्यान्वयन गर्न जिम्मेवार नेपाल विद्युत प्राधिकरणको बोर्डले निर्णय नगरिसकेकाले विभिन्न अन्योलता उत्पन्न भएको छ,’ आइस्पानको विज्ञप्तीमा उल्लेख छ।

नयाँ भाडादर कायम गर्न पूर्वाधार व्यवस्थापन तथा भाडादर सिफारिस समितिको कुनै पनि बैठक नबसेको आइस्पानले जनाएको छ। इन्टरनेट सेवा प्रदायकहरु ‘कायम गरिनुपर्ने भाडादरमा’ भाडा बुझाउन प्राधिकरणलाई अनुरोध गरी स्वंयम उपस्थित भई पत्र समेत बुझाएको आइस्पानले जनाएको छ।

यस्तै, दूरसंचार प्राधिकरणले सेवा प्रदायकहरुलाई राष्ट्रिय परीक्षा बोर्डको पत्रअनुसार देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन मिलाउन दिएको निर्देशनअनुरुप इन्टरनेट दिन आफुहरु असमर्थ भएको जनाएको छ।

‘कक्षा १२ को जारी वार्षिक परीक्षाका लागि गोप्य सामग्रीहरु इमेल मार्फत पठाउनुपर्ने भएकाले विना अवरोध इन्टरनेट सेवा देशभरी प्रवाह गर्न निर्देशन दिएको छ। अर्को तर्फ विद्युत प्राधिकरणका क्रियाकलापहरुले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न गरेको छ,’ आइस्पानको विज्ञप्तीमा उल्लेख छ।

Loading...