सीमा खुलेपछि अस्ट्रेलियाको नेपाली विद्यार्थीको ओइरो

अनेकौं सपना सजाएर सात समुद्रपारीको देश अस्ट्रेलिया भित्रिने नेपाली विद्यार्थीहरूको संख्या पछिल्लो वर्षमा ह्वात्तै बढेको छ।

अन्तर्राष्ट्रिय विद्यार्थीको हब बन्दै गएको अस्ट्रेलियाले पछिल्लो समय सहुलियत दिएसँगै नेपाली विद्यार्थीका लागि प्रमुख शैक्षिक गन्तव्य बनेको छ।

विश्वव्यापी मान्यता प्राप्त शैक्षिक डिग्री, लगानीको सुरक्षा, सहज जीवनयापन र रोजगारीको राम्रो अवसरका कारण अस्ट्रेलियाप्रति नेपाली विद्यार्थीको आकर्षक बढेको हो। त्यसैले प्रत्येक वर्ष हजारौं नेपाली विद्यार्थीले शैक्षिक गन्तव्यका रूपमा अस्ट्रेलिया रोजिरहेका छन्।

अहिले नर्सिङ, आइटी, इन्जिनियर, हस्पिटालिटी, विजनेश, पब्लिक हेल्थ, प्रोजेक्ट म्यानेजमेन्ट विषय अध्ययन गर्ने योजना बनाइरहेका नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया पहिलो विकल्प बनिरहेको छ।

अस्ट्रेलियामा हालै भएको एक अध्ययन अनुसार गएको मार्च महिनामा मात्रै अस्ट्रेलियामा अध्ययनका लागि ४ हजार ७ सय ८८ जना नेपाली विद्यार्थीले भिसा आवेदन दिएका थिए। जसमध्ये ९१.८ आवेदन स्वीकृत भएको थियो।

यो प्रतिशत भनेको नेपालको लागि महत्वपूर्ण र अर्थपूर्ण हो। किनभने कतिपय विद्यार्थीको विविध अन्य कारणले भिसा रद्द हुने भएकोले नेपालको सन्दर्भमा यसलाई शत प्रतिशत नै मान्न सकिन्छ।

पछिल्लो पाँच महिनाको भिसा स्वीकृति दर हेर्दा नेपाली विद्यार्थीको स्वीकृत दर भारतीय तथा पाकिस्तानी विद्यार्थीको तुलनामा निकै धेरै रहेको देखिन्छ।

त्यस्तै, गत मार्च महिनामा ३ हजार ९ सय ३० जना चिनियाँ विद्यार्थीले अस्ट्रेलियामा अध्ययनका लागि भिसा आवेदन दिएका थिए।

यस्तै ३ हजार ४ सय ८३ जना भारतीय विद्यार्थीले मार्च महिनामा अस्ट्रेलिया पढ्न आवेदन दिएका छन्। जसमध्ये ६५.५ प्रतिशत विद्यार्थीको मात्र भिसा आवेदन स्वीकृत भएको छ।

यस्तै मार्च महिनामा भिसा आवेदन दिएकामध्ये ७३‍.४ प्रतिशत पाकिस्तानी विद्यार्थीको भिसा स्वीकृति भएको तथ्यांकले देखाउँछ।

अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउनेमा संख्यात्मक हिसाबले चीन पहिलो मुलुक भए पनि यो वर्षको प्रारम्भमा नेपालले सबैको कीर्तिमान तोड्दै पहिलो नम्बरमा उक्लिएको छ।

अहिले पनि नम्बरका हिसाबले चीन र भारतपछि अस्ट्रेलियामा उच्च शिक्षा पढ्न आउने विद्यार्थीमा नेपाली नै छन्। तर कोरोना महामारीपछि अन्य देशको तुलनामा नेपालबाट आउने विद्यार्थीको संख्या तीव्र वृद्धि भएको छ। यसले गर्दा गत मार्च महिनामा करिब ४१ सय नेपाली विद्यार्थीको भिसा स्वीकृत भएपछि नेपालले चीन र भारतलाई पछि पारेको हो।

यद्यपि विश्वव्यापी आर्थिक संकटको कारण विदेशी विद्यार्थीको आप्रवासन दर पहिला तीव्र रूपमा घट्दै गएको थियो। सन् २०१४-१५ देखि अस्ट्रेलियामा आप्रवासनको तथ्यांक केलाउँदा ४० प्रतिशत विदेशी विद्यार्थीको हिस्सा थियो। सन् २०१८/१९ मा आउँदा त्यसले ४७ प्रतिशत ओगटिसकेको छ।

मुलुकको स्थिति र परिस्थितिले नेपाली युवालाई विदेसिने कुरामा बढी मद्दत पुगेको छ। त्यसमाथि अस्ट्रेलिया सम्भावना भएको मुलुक भएकाले पनि यो युवा वर्गको आकर्षणको केन्द्र बनेको शमशेर थापा एन्ड एशोसिएट्सका रजिष्टर्ड माइग्रेशन एजेन्ट ध्रुव दाहालले बताए।

‘यहाँ अध्ययनका लागि विश्वविख्यात विश्वविद्यालयदेखि गच्छेअनुरूपको सस्ता डिप्लोमा कलेज पनि छन्। सबै वर्गले यसलाई आत्मसात गर्नसक्ने भएकाले यतिखेर अस्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख गन्तव्य बनेको हो,’ दाहालले सुनाए।

कोरोना महामारीपछि अन्तर्राष्ट्रिय सिमाना पुनः खुला भएसँगै अस्ट्रेलियामा पढ्न चाहने विदेशी विद्यार्थीको आवेदनमा उल्लेख्य वृद्धि भएको छ।

सन् २०२१ को अक्टोबरमा अस्ट्रेलियामा पढ्न ५ हजार ३८७ जना विदेशी विद्यार्थीले आवेदन गरेकामा नोभेम्बरमा ११ हजार ४०६ जना पुगेको थियो। त्यस्तै डिसेम्बरमा २० हजार ५३२ पुगेकामा सन् २०२२ को जनवरीमा २५ हजार ४१७, फेब्रुअरीमा २७ हजार १८३ र मार्च महिनामा २७ हजार १९८ पुगेको छ ।

कोरोनापछि सीमा खुलेसँगै अस्ट्रेलियामा करिब १ लाख २० हजार अन्तर्राष्ट्रय विद्यार्थीले अध्यनका लागि भिसा आवेदन दिएका छन्।

उज्वल भविष्य र मौकाको खोजीमा विदेसिने अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययनपछि बिस्तारै स्थायीत्व खोज्दै जाने हुनाले अस्ट्रेलियन सरकारले आफ्नो आवश्यकता र चाहना अनुरुप प्रत्येक वर्ष दक्ष कामदारका रूपमा हजारौं विद्यार्थीलाई पीआर प्रदान गर्दै आएको छ।

मिहेनत र परिश्रम गर्नेका लागि अस्ट्रेलिया एउटा महत्वपूर्ण गन्तव्यका रूपमा रहेको टिम कन्सल्टका शैक्षिक परामर्शदाता बुद्धि डल्लाकोटीले बताए।

‘यहाँ सम्भावनाका थुप्रै बाटाहरू छन। गरिखानेका लागि कयौं बाटाहरू पनि छन्। त्यसैले अस्ट्रेलिया नेपाली विद्यार्थीको लोकप्रिय गन्तव्य बनेको हो,’ डल्लाकोटीले सेतोपाटीसँग भने।

अस्ट्रेलियामा विद्यार्थीलाई हाल प्राप्त भएको असीमित समय काम गर्ने अधिकारका कारण भिसा आवेदनमा यस्तो उच्च वृद्धि हुनसक्छ। शिक्षा क्षेत्र अस्ट्रेलिया सरकारको आम्दानीको मुख्य स्रोतमध्येमा पर्दै आएको छ । जसका कारण समेत अस्ट्रेलियाले उच्च शिक्षाका लागि विश्वभरिबाट विद्यार्थीलाई अध्ययनका लागि अवसर दिँदै आएको छ।

Loading...