आईजीपी बढुवा चर्को विवादमा, दुई एआईजीले मुद्दा लड्न लामो विदा लेखेर छाडे हेर्डक्वार्टर

काठमाडौँ । सरकारले नयाँ आईजीपी नियुक्त गरेसँगै नेपाल प्रहरीमा विवाद बढेको छ । आईजीपी बढुवा प्रकरणमा असन्तुष्टि जनाउँदै दुई एआईजीले लामो बिदा समेत लिएका छन् । एआईजी विश्वराज पोखरेल र एआईजी सहकुल थापाले आईजीपी बढुवाप्रति असन्तुष्टि जनाउँदै लामो विदा लिएका छन् ।

श्रोतका अनुसार एआईजी विश्वराज पोखरेलले एक महिना र थापाले १० दिनको बिदा लिएका छन्। आइतबार अपरान्ह दुवैले बिदाका लागि निवेदन दिएको स्रोतले जानकारी दिएको छ । तर, उनीहरु दुवै जनाको बिदा स्वीकृत भएको छैन। एआईजीको बिदा आईजीपीले स्वीकृत गर्नुपर्छ। सोमबारदेखि आईजीपी धिरजप्रताप सिंह हुने भएकाले उनले नै बिदा स्वीकृत गर्ने नगर्ने निर्णय गर्नुपर्नेछ। सिंहलाई बिहान पौने ९ बजे नै गृहसचिवले दर्ज्यानी चिन्ह लगाइदिने कार्यक्रम तय भइसकेको छ।

शैलेश थापा आज साँझै प्रधान कार्यालयबाट पनि बिदा भइसकेका छन्। आईजीपी नबनेसँगै असन्तुष्ट दुई एआईजीले भने मुद्दा लड्ने तयारी गरेका छन्। नभएको दरबन्दी सिर्जना गरेर एमालेले पालैपालो उनीहरुलाई एआईजीमा एकल बढुवा गरेको थियो। एमाले सरकारमा हुँदा अगाडि बढेका उनीहरु त्यही वरीयता खोजिरहेका छन्। भर्ना भएदेखि एसपीसम्म दुवै जना वरीयतामा निकै पछाडि थिए।

हालका डीआईजीहरु दिवेश लोहनी, उत्तमराज सुवेदी र वसन्त लामाभन्दा पनि पोखरेल र थापा पछाडि थिए। पोखरेल एसएसपीबाट र थापा डीआईजीबाट सिंहभन्दा अगाडि लागेका थिए।

मानव श्रोत विभागमा कार्यरत एआईजी विश्वराज पोखरेल प्रायः प्रहरी प्रधान कार्यालयमै बास बस्थे। तर उनले आइतबार नयाँ आईजीपीको निर्णय भएसँगै प्रहरी प्रधान कार्यालयबाट आफ्ना सामान सारेका छन्।

प्रहरी प्रधान कार्यालय श्रोतका अनुसार पोखरेलले आज आफ्ना सबै समान प्याक गरेर लगेका हुन्। यसअघि कार्यालयमै बस्ने भएकाले उनका लुगाफाटा लगायत धेरै सामान हेडक्वार्टरमै थिए।

मुद्दा लड्ने भएसँगै एक महिना लामो बिदा लेखर उनले हेडक्वार्टर पनि छाडेका हुन्। पोखरेल र थापाले सोमबार नै सर्वोच्चमा मुद्दा दायर गर्ने अनुमान गरिएको छ।

गृह मन्त्रालयले सर्वोच्चमा मुद्दा दायर हुनुपहिले नै दर्ज्यानी चिन्ह प्रदान गर्ने तयारी गरेको हो। दर्ज्यानी चिन्ह लगाइसकेपछि अन्तरिम आदेश दिने सम्भावना कम हुने भएकाले गृहले यस्तो तयारी गरेको हो। चुनाव आउन ११ दिन बाँकी हुँदा भएको आईजीपी नियुक्तिले प्रहरीमा असन्तुष्टि बढाएको छ। यसले चुनावी सुरक्षामा समेत असर गर्ने देखिएको छ।

आइतबार नै अन्य चार एआईजी पनि अवकाश भएका छन्। एआईजीहरु हरि पाल, निरज शाही, प्रद्युम्न कार्की, वसन्तकुमार पन्त पनि अवकाश हुने भएका हुन्।

कर्णाली प्रदेशमा बाहेक प्रदेश प्रहरीको नेतृत्वमा डीआईजी नै रहनेछन्। कर्णालीमा भने हालै एसएसपी राजेशनाथ बास्तोलालाई पठाइएको छ। एआईजी दरबन्दी हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश समन्वय विभाग, प्रहरी प्रशिक्षण प्रतिष्ठान, अपराध अनुसन्धान विभाग रिक्त भएका छन्। थापा र पोखरेलले बिदा लिँदा कार्य र मानव श्रोत विकास विभाग पनि प्रमुखविहीन भएका हुन्। यस्तै अधिकांश डीआईजी पनि रिक्त छन्।

आइतबार नै डीआईजीहरुले पनि अवकाश पाएका हुन्।

Loading...