आयोग प्रमुख थपलियाको अभिव्यक्ति केपी ओलीसँगै मिलेको भन्दै नेता पुनले जनाए आपत्ती

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्तलाई निष्पक्ष भूमिकामा रहन नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आग्रह गरेका छन् । आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया र एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति एउटै एउटै भएको भन्दै नेता पुनले यस्तो आग्रह गरेका हुन् ।

मे दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पुनले प्रमुख आयुक्त थपलियाको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । नेता पुनले थपलियाको पछिल्लो अभिव्यक्ति एमाले अध्यक्ष ओलीको धारणासँग मिलेको बताए । उनले आयोग प्रमुखलाई निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न आयोगलाई आग्रह गरे ।

निर्वाचन आयोग आज रेफ्रीको भूमिकामा रहेको भन्दै नेता पुनले भने, ‘रेफ्री आफैं मैदानमा ओर्लेर खेल खेल्न लाग्यो, गोल हान्न लाग्यो भने त्यो खेल कस्तो हुन्छ रु म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहान्छु, मतदाताले देख्ने गरी रेफ्रीको भूमिकामा बसिदिनुस् ।’

प्रमुख आयुक्त थपलियाले ‘मतपत्र बलियो कागज राखेका छौं अब चपाउन, च्यात्न सकिँदैन’ भनेको भन्दै नेता पुनले भनेका छन्, ‘केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो ? यसमा हाम्रो आपत्ति छ ।’

उनले अघि भने, ‘निर्वाचन आयोगप्रति हाम्रो विश्वास छ, तर यस्ता बोलीहरुप्रति हाम्रो आपत्ति छ । कुनै नेता विशेष, कुनै पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न मिल्दैन ।’

Loading...