दक्षिण कोरियाले फेरि नेपाली श्रमिक लैजान रोक्यो

दक्षिण कोरियामा पुनः कोरोना संक्रमण दर तीब्र गतिमा फैलन थालेपछि प्रवासी श्रमिक लैजान रोक लगाएको छ।

कोरिया सरकारले नेपालसहितका देशबाट श्रमिक लैजान रोक लगाएको हो। कोरियाको उक्त निर्णयका कारण ३ दिनपछि दक्षिण कोरिया जान लागेका नेपालीलाई समेत रोकिएको छ। उनीहरुको उडान तालिका तय भएको थियो।

अर्को सूचना जारी नभएसम्मका लागि उनीहरुको उडान स्थगित भएको श्रममन्त्री किसन श्रेष्ठका प्रेस संयोजक तेजप्रसाद वाग्लेले जानकारी दिए।

उडान तालिका स्थगित गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धृत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको हो।

रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान ईपीएस पास गरी लामो पर्खाइपछि १४ फेब्रअरीमा उडान तय भइ रोकिएका श्रमिकहरुलाई छिट्टै पठाउन पहल गर्ने बताएका छन्।

मन्त्री श्रेष्ठले संक्रमण दर कम हुनासाथ रोकिएका श्रमिकहरुलाई तत्काल पठाउने व्यवस्था हुने विश्वास दिलाए।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिकहरु लामो समयदेखि रोकिएका थिए। त्यहाँ संक्रमण कम भएको लामो समयपछि उडान सुचारु भएपनि पुनः रोकिएको हो।

Loading...