उत्तरगयामा स्वास्थ्य सेवासहित उड्दै हेलिकप्टर

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले सरकार आकाशमा मात्र देखिएको आरोप लगाएपछि सरकार उत्तरगयामा देखिने भएको छ । स्वास्थ्य मन्त्री निशा मेहता र सांसद तोसिमा कार्कीको पहलमा सरकारले अस्थायी स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेको हो ।

रसुवा र नुवाकोटमा आपतकालीन स्वास्थ्य सेवा दिँदै आएको बागमती प्रदेश सरकारको स्वास्थ्य सचिव डा सुमित्रा गौतमले उत्तरगयाको वडा नम्बर ५ को निलकण्ठेश्वर माविमा केन्द्र सरकारले नै अस्थायी स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेको बताइन् ।

गाउँपालिका उपाध्यक्ष चमेली गुरुङसंग आफू सम्पर्कमा रहेको बताउँदै उनले आफूले आवश्यक समन्वय र पहल गरिरहेको पनि जानकारी गराइन ।

नेपाली सेनाको हेलिकप्टर आवश्यक जनशक्ति, औषधी र उपकरणसहित शुक्रबार नै उत्तरगया पुग्ने उनले प्रष्ट पारिन् ।

बुधबार भोटेकोशीको जलप्रकोपमा परी उत्तरगयाका सयौं मानिस प्रभावित भएका छन् । विशेषगरी बेत्रावती–मैलुङ क्षेत्रका नदी किनारका बस्तीमा ब्यापक क्षति भएको छ ।