करिव दुर्इ दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशील पत्रकार अाेम हमाल अहिले जनता टेलिभिजनमा काम गर्छन । पाेखराबाट प्रकाशित हुने पाेखरा सिटी टाइम्स साप्ताहिकका सम्पादक रहेका उनी अहिले जनसञ्चार डटकमका सम्पादक समेत छन् । प्रहरीले उनीसहित उनका सहकर्मी पत्रकार रमाकान्त बास्ताेलालार्इ पाँच दिनकाे बीचमा दुर्इ पटक गिरफ्तार गर्दै हिरासत लिएर छाेड्याे । उनीहरुलार्इ यस्ताे षड्यन्त्रपूर्वक गिरफ्तार गरियाे कि जुन कुरा सुन्दा प्रहरीमा रहेका केही उच्चतहकै व्यक्तिहरु कतै व्यक्तिगत रिसिइबी साध्न शक्तिकाे दुरुपयाेग गरिरहेका त छैनन भन्ने प्रश्न उब्जिन्छ । पाँच दिनकाे बीचमा दुर्इ पटक गिरफ्तार परेपछि पत्रकार हमालले अाफ्नाे गिरफ्तारीबारे यसरी लेखेका छन :
पाँच दिनको बीचमा प्रहरीले म र मेरा सहकर्मी मित्र रमाकान्त बास्तोलालाई दुर्इ पटक पक्राउ ग¥यो । मेरा आम शुभचिन्तक, इष्टमित्र र नेपाल पत्रकार महासंघ कास्कीको दबाब अनि शुभेच्क्षाका कारण हामी फेरि झण्डै २० घण्टाको प्रहरी हिरासतको बसाईंपछि रिहा भयाै । यसका लागि हामी सबैलाई आत्मैदेखि धन्यवाद र कृतघ्नता प्रकट गर्दछौं ।
नेकपाकी नेतृ उमा भुजेलसँग सम्पर्क भएको र साथमा नै रहेको भन्दै हामीलाई पक्राउ गरेर छाडेको पाँच दिनपछि मंसिर १६ गते शुक्रबार साँझ करीब साढे पाँच बजे फेरि पोखराको महेन्द्रपुलबाट हामीलार्इ पक्राउ गरियाे ।
घर जानुभन्दा अघि हामी सधैं खाजा खाने महेन्द्रपुलको क्याफेमा खाजा खाईरहेका थियौं । एकजना अधबैंसे दाजु आउनुभयो, “सर, नमस्ते” भन्नुभयो । मैले पनि नमस्ते गर्दै “बस्नुस्” भनें र आफू एउटा कम्युनिष्ट कार्यकर्ता भएको नाताले हात मिलाएँ । मैले हात मिलाउँदै गरेको अवस्थामा अर्का एकजनाले मोवाइलले हाम्रो फोटो खिचे ।
फोटो खिच्नेलाई मैले सोधें, “किन फोटो खिचेको ?”
उसले अगाडि आयो र आफ्नो परिचय दिंदै भन्यो,“म सुरज, जिल्ला प्रहरी कार्यालय कास्कीबाट आएको स तपाईंलाई एसपी साबले बोलाएर ल्याउनु भन्नु भाछ । त्यही भएर आएको” ।
मैले फेरि प्रतिप्रश्न गरें, सुरज के ?”
उसले जवाफ दियो, अहिले त्यति नै बुझ्नुस् न ।”
अनि मैले मसँग हात मिलाउने अधवैंशेलाई सोधें, “तपाईं पनि प्रहरी हो ?”
उनले जवाफ दिए, “हैन । म मोहन गुरुङ”, –– – तपाईको घर कहाँ हो ।
– मेरो घर मजुवाबस्ती हो ।
– मलाई चिन्नुहुन्छ ?
– चिन्दिन ।
– अनि के हो यो ?
– मलाई त उहाँले जे जे गर भन्यो त्यही गरें ।
सादा पोशाकमा आएका अन्य प्रहरीले मलाई “जाम जाम दाई हामीसित” भनेर अलिक जोड गर्न खोजे । म मेरो आफन्तलाई खबर गर्छु भनेर फोन गर्न लागेको त मोवाइल खोस्न खोजे । मैले दिइन र मेरो फेसबुक वालमा “आज पनि हामी पोखराको महेन्द्रपुलमा प्रहरीको नियन्त्रणमा प¥यौं । गिरफ्तारीमा परिएको त होला नि” भनेर मेसेज पोष्ट गरें । सादा पोशाकमा रहेका प्रहरी भाईले “गिरफ्तारी भनेर नलेखिदिनु भए हुन्थ्यो” भन्दै थिए । त्यसपछि हामी प्रहरीले प्रयोग गरेको भाडाको जीपमा बस्यौं । जीपमा बस्न नपाउँदै सादा पोशाकका प्रहरीले मेरो मोवाइल खोसे ।
हामी जिल्ला प्रहरी कार्यालय कास्कीमा पुग्यौं । त्यहाँ पुगेपछि मैले “हामीलाई किन पक्राउ गरियो” भनेर प्रश्न गरिरहें । तर कसैले चित्त बुझ्दो जवाफ दिएन । सबै कारण बताउन सकिरहेका थिएनन् । करीब एक घण्टापछि मैले आफू पक्राउ पर्नुको कारण यी यी त हैनन् भनेर स्पष्ट प्रश्न राखें । मैले त्यति बेला राखेका प्रश्नहरु यस्ता थिए ।
सुरुमा मलाई नगरबसका स्टाफहरुलाई समाचार लेख्दै उचाल्यो भनेर पक्राउ गर्न खोजियो ? राज्यको यति ठूलो संयन्त्र परिचालित छ । प्रमाणित गर्नुु् र मलाई गोली ठोक्नुस् ।
तपाईंहरुले मलाई नेकपाकी नेतृ उमा भुजेलसँग सम्पर्क रहेको आरोप लगाएर समात्नुभयो । म उमा भुजेललाई राम्रोसँग चिन्दा पनि चिन्दिन । मेरो देखभेट त के फोन सम्पर्क भएको प्रमाणित गर्नुस् । मेरो र उमा भुजेलको एकसयदेखि डेढसय मिटर वरिपरि आमनेसामने भएको समेत प्रमाणित गर्नुस् फेरि पनि गोली ठोक्न सक्नुहुन्छ ।
मैले लेखेका समाचारका कारणले हाे भने ती समाचारहरु गलत छन् भन्ने प्रमाणित गर्नुस् । कानूनी कारवाही भोग्न तयार छु । महिलालाई अभद्र व्यवहार गरेको आरोप लगाएर पामे प्रहरी चौकीमा रहेका दुई प्रहरीलाई निलम्वन गरियो र ती प्रहरीहरुलाई कास्कीका प्रहरी प्रमुख अशोकसिंहले निर्घात कुटपिट गरे र उपचार गर्न एक–एक हजार उपचार खर्च दिए । कानून पालना गराउने मानिसले कानून उल्लङ्घन गर्न पाइन्छ ? भनेर समाचार लेखें । के यो समाचार गलत थियो ?
कास्कीको पुम्दीभुम्दीबाट तिहारको मुखमा घरानिया र उच्च पदस्थ व्यक्तिहरु जुवाखालबाट पक्राउमा परे । तिनलाई तिहार मान्ने बिदा दिइयो । तिहारपछि प्रहरी कार्यालय बोलाएर मुद्दा चलाइएका जुवाडेहरुलाई उपचारको नाममा अस्पतालमा राखेर सुखसुविधा दिइयो । के यो सुविधा दिइनु जायज थियो ? भनेर मैले समाचार लेखें । मैले याे प्रश्न पनि गरें कि के यो सुविधा सबैलाई दिइएको छ ?
मैले यति कुरा राखेपछि मात्र त्यहाँ उपस्थित रहेका प्रहरीका जुनियर अधिकृत मध्येका एकले, “तपाईंलाई बाहिर राख्दा चुनावलाई वाधा पर्ने देखेर पक्राउ गरिएको हो” भनेर सुनाए ।
त्यसपछि मैले “मलाई पक्राउ पुर्जी दिनुस् ।” भने । उनीहरुले पक्राउ पुर्जी दिन आनाकानी गरे । मसँगै रहनुभएका सहकर्मी पत्रकार रमाकान्त बास्तोला र मैले पक्राउ पुर्जी नपाएसम्म कहीं नजाने अडान राख्यौं । “आज पक्राउ पुर्जी दिनुभएन भने भोलि तपाईंले हामीलाई हतियार सहित पक्राउ गरिएको भन्नुहुनेछ । साथमा विष्फोटक पदार्थ समेत थियो भन्नुहोला । त्यही भएर कुनै हालतमा पनि हामीलार्इ पक्राउ पुर्जी चाहियो ।” भनेर हामी अडिग रह्यौं ।
त्यसको करीब आधा घण्टापछि बल्ल मलाई केही सार्वजनिक अपराध सम्बन्धि मुद्दामा पक्राउ गरिएको भनेर पक्राउ पुर्जी दिइयो । मैले फेरि प्रश्न गरें, “के मैले नाङ्गै बसेर शान्तिसुरक्षामा खलल पु¥याएको हो ? कि मैले कसैलाई कुटपिट गरें ?”
ती जुनियर अधिकृतले भने, चुनावविरोधी गतिविधि गर्नुभएको हो ।”
मैले फेरि प्रश्न गरें, मैले चुनावविरोधी कुन कुन गतिविधि गरें ? कि मेरो समाचार लेखाईले चुनावमा ठूलाे असर पर्याे ?” उनले जवाफ दिए, “हामीलाई चुनावविरोधी गतिविधि भएको शंका लाग्यो ।”
मैले उनीहरुलार्इ भनें “त्यसो भए मेरो पक्राउ पुर्जीमा त्यही लेखिदिनुस् ।”
उनले जिद्धि गरिरहे, “मुदद नचलेसम्म त्यस्तो लेख्न मिल्दैन ।”
मैले त्यो उल्लेख नगरेसम्म पक्राउ पुर्जी नबुझ्ने बताएपछि बल्ल ती अधिकारीले “निर्वाचन विरोधी” भनेर मेरो पक्राउ पुर्जीमा लेेखे ।
त्यसपछि “मलाई रामबजार प्रहरी चौकी र रमाकान्तजीलाई बगरचौकीमा जानुस्” भनियाे । मलाई त पक्राउ पुर्जी दिइयो, रमाकान्तजीलाई पनि दिनुस् न भनें । “हामी दिन्छौं” भनेपछि प्रहरीको भ्यानमा बसेर रामबजार चौकी गएँ । मेरो मनमा त्यतिबेला विभिन्न प्रश्नहरुको आँधी चलेको थियो भने आफू बेकारमा प्रहरी हिरासतमा बस्नु परेकोमा मनमा आक्रोशको ज्वारभाटा उत्पन्न भएको थियो ।
रामबजार चौकीमा पुगेपछि त्यहाँकाे प्रहरी हिरासतमा राम्रैसँग चिनजान भएका नेता परिवर्तनजी त्यहीं हुनहुँदोरहेछ । मलाई केही ढाडस मिले जस्तो भयो । त्यहाँ पुगेपछि अरु साथीहरुलाई परिवर्तनजीले चिनाउनुभयो । त्यहाँ २–३ वर्षदेखि राजनीतिक रुपमा निष्कृय कंसपुरका ५७ वर्षीय बुबा चित्रबहादुर घर्ती, नेपाली काँग्रेसका कार्यकर्ता रोमबहादुर गुरुङ, ठेकेदार खड्कबहादुर राई, दीपक या के नाम हो भएका कार्यकर्ता हुनुहुँदो रहेछ । मैले साथीहरुको साथमा रहेको खाजा खाएँ । सामान्य चिनजान र भलाकुसारी पछि हामी प्रहरी हिरासतमा सुत्यौं ।
मच्छड धुपको गन्धले मेरो टाउको फुट्ला जस्तो भयो । यसभन्दा अघि कहिल्यै बन्द कोठमा बस्न नपरेको मलाई असजिलो महशुस हुनु स्वाभाविकै थियाे ।
हिरासतकाे चिसाे बन्द काेठाभित्र पहिल्यै गिरफ्तार गरेर राखिएका साथीहरुले मुस्किलले बनाएकाे बिस्तरामा जसोतसो झपक्क निदाएको थिएँ । राती १२ बजेतिर एकजना प्रहरीले ओम हमाल को हो भन्नुभयो । निद्रामा नै भए पनि मैले ज¥याकजुरुक उठेर म हो भनें । उसले “मेडिकल गर्न जान प¥यो बाहिर आइजा” भन्यो प्रहरीले । पहिलोपटक मैले त्यसलाई सहजै लिएँ । मैले पिसाब फेर्न ट्वाइलेट गएर फर्की जुत्ता लगाउँदै थिए, त्याे पुलिसले मलाई, “छिटो गर । कहाँ हराइस्” भन्दै कर्कसपूर्ण बोली बोल्यो । मलाई झनक्क रिस उठ्यो, “राम्रोसँग बोल्न आउँदैन । के बोलेको त्यस्तो । राम्रोसँग बोल्न सिक्नुस् ।” मेरो जवाफले त्याे पुलिस भाई झस्केछ । केही प्रतिक्रिया दिएन ।
म बाहिर निस्किएँ । गेटबाट निस्कने बित्तिकै हत्कडी लगाउन खोजियो । मैले “हत्कडी लगाउनै पर्छ र” भनेर प्रश्न गरें । “यो नियमै हो लगाउनुपर्छ ।” भन्ने जवाफ पाएँ । मलाई हत्कडी लगाईरहँदा भने मलाई मेरो दुई दशक लामो पत्रकारिता जीवनप्रति धिक्कार लाग्यो । मैले “दुई दशकसम्म अन्याय, अत्याचार, भ्रष्टाचार र कुरीतिविरुद्ध लडेको प्रतिफल यस्तो भोग्न प¥यो” भन्ने मलाई लाग्यो । हत्कडी लगाएर अघि बढ्दै गर्दा अनयास्सै मेरो मुखबाट वाक्य फुट्यो, “धिक्कार छ जिन्दगी र धिक्कार छ दलाल शासकहरु ।” मलाई गाडीमा चढ्न भनियो र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको इमरजेन्सी वार्डमा पुग्यौं । त्यहाँ प्रहरीले एउटा पत्र डाक्टरलाई दिए । मैले त्यो कागज तानेर हेरें । अनि डाक्टरले त्यो पत्रतिर मात्र हेरेर सोधे, “तपाईंले मादक पदार्थ सेवन गर्नु भएको छ कि छैन ? तपाईंलाई घाउ चोट लागेको छ कि छैन ?” मैले जवाफ दिएँ, “छैन, तर हल्का टाउको दुखेको महशुस भएको छ । डाक्टरले मेरो टाउको दुखेको कुरा त उल्लेख नै गरेनन् । आफ्नो जवाफ त्यस पत्रमा लेखेर उल्टो छाप लगाए ।
त्यहाँबाट रामबजार चौकीमा फर्किंदा चित्रबहादुर घर्ती बालाई पखाला लागेको रहेछ । उहाँ ट्वाइलेटमा बसिरहनुभएको थियो । बिहान उठेर साथीभाईहरुबीच उज्यालोमा देखभेट भयो । सुताई सजिलो भएको अनुभूति साथीहरुलाई सुनाएँ । साथीहरुले पुलिसचौकीकै क्यान्टिनबाट चिया ल्याएर खुवाउनुभयो । साथीहरु भन्दै हुनुहुन्थ्यो, अन्य प्रहरीचौकीको भन्दा रामबजार चौकीमा अलिक राम्रो व्यवहार हुन्छ ।
करीब साढे नौ बजेको थियो क्यार । प्रहरीले बाहिर बोलाए । प्रहरी भाईले “सर, जाकेट छैन ? लगाउनुस् ।” मीठो शब्दमा बोले । मलाई केही खुसीको अनुभूति भयो । प्रहरीले मीठो पनि बोल्दा रहेछन् भन्ने लाग्यो ।
बाहिर निस्के । त्यहाँ केही पत्रकार साथीहरु जम्मा हुनुभएकाे रहेछ । साथै केही नचिनेका मान्छेहरु पनि जम्मा भएका थिए । साथीहरुले मेरो बसाई र खानाको बारेमा सोध्नुभयो । मैले बसाईं ठीकै रहेकाे तर बेलुका खाना नखाएको बताएँ । अनि साथीहरुले मलाई फक्राउ गरिनुको कारण साेधे । मैले माथि भनेका कुराहरु सबिस्तार बताएँ र मलाई प्रतिशोधपूर्ण तरिकाले फँसाउने पूर्व योजनाकासाथ पक्राउ गरिएको बताएँ । मलाई प्रहरीले पूर्व योजनाकासाथ लगाएका आरोपहरु प्रमाणित गर्न पनि त्यही पत्रकारहरुको भीडमा चुनौती दिएँ ।
त्यसैबीचमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले आफूहरु कास्कीका प्रमुख जिल्ला अधिकारी र एसपीलाई भेटेर आएको जानकारी दिनुभयाे । साथै उनीहरुसँग पत्रकार ओम हमाललाई समाचार लेखेकै भरमा पक्राउ गरिएको भनेर विरोध जनाएकाे पनि जानकारी गराउनुभयाे । दिपेन्द्र जीले ‘प्रहरीसँग म विप्लवका कार्यकर्तासँग बसेको फोटो तथा उम्मेदवारको गाडीको फोटो खिचेर पार्टीलाई बुझाएको भिडियो छ भनेको’ पनि सुनाउनुभयो । त्यस कुराले मलाई झन् आक्रान्त बनायो । मलाई हिजो समात्नुभन्दा अघि क्याफेमा प्रहरीद्वारा ल्याइएका मनोज गुरुङसँग हात मिलाएको बाहेकको प्रमाण भए देखाए हुन्छ र मैले नेकपालाई उम्मेदवारको गाडीको फोटो खिचेर बुझाएको प्रमाणित गर्नुस् र गोली ठोक्नुस् भनें । ठूलो सङ्ख्यामा आएका पत्रकारहरुको नेतृत्व गरिरहनुभएका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मैले भनेका कुरा तुरुन्त कास्कीका सिडियो र प्रहरी प्रमुखलाई राखिदिने भन्नुभयाे र हामी बिदा भयौं ।
केही समयपछि मलाई रामबजार चौकीको हिरासतबाट फेरि बाहिर बोलाइयो र प्रतिक्षालयमा बस्न भनियो । त्यही प्रतिक्षालयमा रामबजार प्रहरी चौकीका प्रमुख उहाँका सहकर्मीका साथ हुनुहुन्थ्यो । त्यहाँ पनि मैले आफ्नो कुरा राखें । उहाँले पनि आफ्नो कुरा कास्की प्रहरी प्रमुखसँग राख्न सल्लाह दिनुभयो । उहाँकै गाडी चढेर म जिल्ला प्रहरी कार्यालय कास्कीमा गएँ । त्यति बेलासम्म रमाकान्तजीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा नै ल्याइयो । हामीलाई रामबजार चौकी प्रमुखले भित्र बाहिर जहाँ बसे पनि हुने भनेपछि हामी भवनको टपमा रहेको छतमा बस्यौं । रमाकान्तजी र मैले अघिल्लो रातको अनुभव शेयर गर्यौं । तर, प्रहरीका हाकिमहरु आउनुभएन । झण्डै एकघण्टापछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्री देखिनुभयो । मैले आदरपूर्वक उहाँसँग हात मिलाएँ ।
मैले मलार्इ किन गिरफ्तार गर्नुभएकाे हाे भनेर प्रश्न गरे । कुनै मुद्दा चलाउने भए पनि चलाउनुस् भने । एकछिनपछि खबर गर्छु भनेर उहाँ पनि निस्कनुभयो । तर उहाँको जवाफ आउन पनि समय लाग्यो । लामो समयपछि हामीलाई तल डिएसपी साबको कोठामा बोलाइयो ।
त्यही क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र युवा पत्रकार भाई अर्जुन गिरी देखिनुभयो । हामी डिएसपी साबको कोठामा पुग्यौं । त्यहाँ पुगेपछि मलाई केन्द्रीय सदस्य ज्ञवालीले ‘चुनावलाई वाधा पुग्ने समाचार लेखेको भनेर प्रहरीले आरोप लगाएको छ । सुधार गर्छु भनौं विवाद मिलाउँ ।’ भन्नुभयो । त्यही बीचमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलार्इ पनि फोनमार्फत् बोलाइयो । उहाँ पनि तुरुन्त आउनुभयो ।
अध्यक्ष श्रेष्ठले डिएसपी खत्रीसँग “हामी पत्रकारहरु एकछिन छुट्टै बस्छौं ।” भन्नुभयो ।
मैले ‘डिएसपी साबकै अगाडि कुरा गर्दा हुन्छ । कुनै फरक पदैंन’ भनें । डिएसपी साबले अलिक अप्ठ्यारो माननु भएछ कि क्या हो । “हैन मेरो अरु काम पनि छ । बाहिर जान्छु ।” भन्नुभयो र उहाँ बाहिरिनुभयो ।
त्यसपछि अध्यक्ष श्रेष्ठले प्रहरी प्रशासनको तर्फबाट कुरा राख्नुभयो, “ओमजी, कुरा अलिक जटिल रहेछ । हामीले पत्रकारले समाचार लेखेकै भरमा पक्राउ पर्नुहुन्न भनेका छौं । सिडियो र एसपीसाबसँग एक घण्टा बस्दा उहाँहरुले पोखरा र आसपासका क्षेत्रमा विष्फोटको घटनामा तपाईंको नाम जोडिएको छ, भन्नुहुन्छ । तपाईं प्रहरी हिरासतमा बस्दा पोखरा र आसपासमा विष्फोट हुन्न । उहाँ बाहिरिनु भयो भने पोखरामा ग्यारेन्टीका साथ भन्छौं विष्फोट हुन्छ भन्छन् उनीहरु ।” भन्नुभयो ।
मैले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञवाली र कास्की अध्यक्ष श्रेष्ठलाई स्पष्टसँग भनिदिएँ कि म गैरकानूनी काममा सहभागी छु र म नै राज्यका लागि बाधक हुँ भन्ने राज्यलाई लागेको छ भने म र राज्यका बीचमा नेपाल पत्रकार महासंघ आउनु आवश्यक छैन । म गलत छु भने नेपाल पत्रकार महासंघले बचाउ गर्नु पर्दैन ।” भनिदिए ।
महासंघका केन्द्रीय सदस्य ज्ञवालीले ‘के हामी तपाईंलाई जेलमै छाडेर जाउँ त” भनेर सोध्नुभयो ।
“कास्की प्रशासन मदेखि अातङ्कित छ र म नै याे चुनावकाे बाधक लाग्छ भने वा मलाई राज्यले गलत भन्ने ठान्छ भने तपार्इहरु अगाडि नबस्नुस । म कानूनी कारवाही भोग्न तयार छु ।” मैले भने
यसैबीच डिएसपी खत्री आफ्नो कार्यकक्षमा प्रवेश गर्नुभयो र मुद्दा फाँटका सई नरहरिसाबलाई बोलाउनुभयो । उहाँले आवश्यक परेको अवस्थामा उपस्थित हुने भन्दै अध्यक्ष श्रेष्ठको उपस्थितिमा एउटा कागज लेखियाे ।
डिएसपी खत्रीले सोध्नुभयो, तपाईं विप्लवको समर्थक त हो नि ?” मैले उनीहरुलार्इ एकचाेटी नेपालकाे अहिलेकाे संविधान राम्ररी पढ्नै भने । साथै “नेपाली नागरिकलार्इ नेपालको संविधानले राजनीतिक आस्थाका आधारमा कुनै भेदभाव गरिने छैन भन्ने बुँदा अनुरुप म मेरो विचार र आस्था राख्दछु । म कुनै गोला बारुद बोक्ने मान्छे हैन र म कुनै हड्ताल, कुनै विरोध प्रदर्शनमा सहभागी भएको प्रमाण पेश गर्नुस” भने ।
फेरि डिएसपी साबले सोध्नुभयो, तपाईं विप्लव माओवादीको मिडिया चलाउनुहुन्छ नि ?” मैले जवालफ दिएँ, मैले कुनै पार्टीको मिडिया चलाएको छैन । जनसञ्चार डटकम मेरो नितान्त आफ्नो लगानीमा सञ्चालन भएको अनलाइन हो । हामी हाम्रो मिडियालाई निष्पक्ष बनाउन प्रतिवद्ध छौं । राष्ट्रिय स्तरका नेताका बाहेक हामी चुनावका न्यूज कमै हाल्छौं । हामी सामान्यतः राष्ट्रियस्तरका बिग मिडियालाई आधार बनाएर न्यूज हाल्छौं । त्यही न्यूज बिग मिडियामा आउँदा आपती नहुने तर जनसञ्चार डटकममा आउँदा आपत्ति हुनुपर्ने कारण छ जस्तो मलाई लाग्दैन ।” भने । साथै मैले उनीहरुलार्इ एउटा संचारमाध्यममा के समाचार प्रकाशन गर्ने वा के समाचार प्रकाशन नगर्ने भन्ने कुरा प्रहरी वा राज्यकाे प्रशासनले भन्न मिल्छ र ? भनि प्रश्न गरे । मैले अाफ्नाे सम्पादकीय स्वतन्त्रताकाे कुरा पनि उठाए ।
डिएसपीले सोध्नुभयो, “तपाईंले फेसबुकमा निर्वाचनविरोधी सामाग्री धेरै पोष्ट गर्नुहुन्छ किन ?” मैले जवाफ दिएँ, राष्ट्रिय र बिग मिडियाले जे समाचार हाल्छन् र सामाजिक सञ्जालमा राख्छन् । ती र त्यस्तै समाचारहरु हामी हाम्रो मिडियामा राख्छौं र हाम्रो सामाजिक सञ्जालमा राख्छौं । यस विषयमा तपार्इहरुलार्इ के काे आपत्ति हाे । त्यस्ताे अापत्ती जनाउनुपर्ने कारण छ जस्तो मलाई लाग्दैन” भने ।
यति कुरा सुनेपछि डिएसपीले भन्नुभयो, सबैले चुनाव चाहेका छन्, सबैले चुनावलाई सहयोग गर्ने वातावरण बनाउन पाए हुन्थ्यो भन्ने आशयको भनाई राख्नुभयो । मैले स्पष्ट भनिदिएँ कि हामी निर्वाचनसम्बन्धि समाचार राष्ट्रिय महत्वको बाहेक कम हाल्छौं । हाम्रो समाचारले चुनावलाई वाधा पुग्छ भन्ने मलाई लाग्दैन । समाचार हाल्न हामीलाई थुनछेक गर्न हुँदैन ।” भने ।
डिएसपीले भन्नुभयो कि समाचार हाल्न थुनछेक लगाएको हैन कि चुनाव अवधिभर केही संयमित भईदिनुस् भन्ने अनुरोध हो” भन्नुभयाे । अन्त्यमा सामाजिक सञ्जालमा स्टाटस हाल्दा विद्युतीय अपराध ऐन सम्बन्धि मुद्द्दा लाग्नसक्ने कुरातर्फ पनि सचेत गराउनुभयो । त्यसपछि हामी नेपाल पत्रकार महासंघ कास्कीको पहलमा घर फर्कियौं ।
जब म कार्यालयतिर फर्किरहेको थिएँ । हिजो हामी पक्राउ परेको समाचार के कति मिडियाले हालेछन् भनेर गोर्खापत्र बाजेको पसलमा गएर सबै पत्रिकाहरु हेरें । तर कुनै पनि मिडियाले समाचार लेखेकाे पाइन । पोखरा जस्तै ठूलो शहरको मुख्यचोक महेन्द्रपुलबाट दुई पत्रकार पक्राउ पर्दा समाचार नआउनु भनेको पोखराको पत्रकारिताको अवस्था कस्तो हालतमा रहेछ भन्ने प्रष्ट भयाे । साथीहरुले अरु केही नभए पनि ‘विप्लवकै कार्यकर्ता भन्दै पत्रकार समातिए’, प्रहरीले यसो भन्छ भनेर समाचार त हाल्नु पथ्र्यो नि हैन र ? तर समाचार किन लेखिनस् भनेर दबाब दिन भने हुँदैन भन्ने मेरो मान्यतामा म अविचलित छु ।
यदि प्रहरीले मैले विप्लवका कार्यकर्ता संरक्षण गरिरहेको छु भन्ने र म नै बम विष्फोटनमा संलग्न छु भन्ने प्रमाणित गर्छ भने कानूनी कारवाही गर्न पछि हट्नुहुँदैन । तर राज्यलाई प्राप्त सूचना के कति सही छ भनेर एकपटक पुर्नमूल्याङ्कन गर्नुपर्ने आवश्यकता म देख्दछु । मेरो राजनीतिक आस्थालाई कुल्चने कुत्सित मनसाय र मनमा उत्पन्न प्रतिशोधको भावनालाई मुखरित गर्न दिइएका गलत सूचनालाई कार्यान्वयन गर्नुपूर्व ठण्डा दिमागले सोंच्न म प्रशासनलार्इ अाग्रह गर्दछु । कानूनसम्मत तरिकाले गरिने कारवाहीलाई म सदासर्वदा स्वागत नै गर्दछु । तर मलाई अफसोंच र दुःख यो मानेमा छ कि मलाई फँसाउने श्रृंखलावद्ध षडयन्त्रहरु भईरहेका छन् ।