स-साना बालबालिकाले बिद्यालयमानै सिके मौलिक परम्परा

काठमाडौ नेवाः किन्डरगार्टेनमा युकेजीमा अध्ययनरत ससाना विद्यार्थी भाइबहिनीहरुलाई सामूहिक म्हपुजा गरिएको छ । नेवाः समुदायको आफ्नै विशिष्ट पहिचान बोकेको म्हपुजा विद्यार्थीहरुलाई पनि जानकारी दिने उद्देश्यले उक्त किन्डरगार्टेनले विगत केही वर्ष यता निरन्तर रुपमा सामूहिक म्हपुजा गरिंदै आएको छ ।
किन्डरगार्टेन परिसरमा नै भएको विद्यार्थीहरुको सामूहिक म्हपुजा पूर्व मिस नेवाः तथा लिपि सुन्दरीका रुपम चर्चित व्यक्तित्व सुनिता डंगोलले गर्नु भएको थियो । युकेजीमा अध्ययनरत विद्यार्थीहरुलाई दुइ लहरमा राखी म्हपुजा गरिएको थियो । उक्त अवसरमा नेवाः समुदायमा गरिने सबै विधिहरु पूरा गरि ससाना विद्यार्थीहरुलाई म्हपुजा गरिएको थियो ।
विद्यार्थीहरुलाई म्हपुजा गर्नुभन्दा अघि विद्यार्थीका अभिभावकहरुका बीत मन्दः (मण्डला) लेखन प्रतियोगिता पनि भएको थियो । उक्त प्रतियोगितामा विद्यार्थी स्वस्तिका श्रेष्ठका अभिभावक अमुना जोशी श्रेष्ठद्वारा लेखिएको मन्दःलाई उत्कृष्ट घोषणा गरिएको थियो । उत्कृष्ट मन्दःको छनोट संचारकर्मि विराजकाजी राजोपाध्यायद्वारा गरिएको थियो । उक्त अवसरमा युकेजीका विद्यार्थी रियाज श्रेष्ठका प्रतिनिधि रियाना श्रेष्ठ (वर्ष ८) ले पनि मन्दः बनाउनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डंगोल, निर्णायक राजोपाध्याय, किन्डरगार्टेनका निर्देशक राजेन्द्र महर्जनले आ–आफ्नो धारणा राख्नु भएको थियो भने अतिथि र उत्कृष्ट मन्दः बनाउनु हुने श्रेष्ठलाई निर्देशक महर्जनले प्रशंसा पत्र र मायाको चिनो प्रदान गर्नु भएको थियो l

Loading...