परिवर्तन बिरोधी षडयन्त्रलाई परास्त गर्न माओवादी केन्द्रलाई बलियो बनाउनुको बिकल्प छैन- अध्यक्ष प्रचण्ड

कार्तिक १८,काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि लोकतन्त्र बिरुद्द षडयन्त्र हुन् सक्ने बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रीय समितिद्वारा नेपाल सम्वत ११४२ नयाँ वर्षको उपलक्ष्यमा आज आयोजित ‘भिन्तुना कालबिल’ शुभ कामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले अझै पनि षडयन्त्र भइ नै रहने र षदयन्त्रलाइ परास्त गर्ने भनेको नै माओबादी पार्टी बलियो बनाउनु भएको बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले लालपूर्जाको समस्या, स्वबासी समस्या भएका क्षेत्रमा ध्यान दिँदै सो क्षेत्रमा तत्काल सरकारले जनतालाई लालपूर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले गरिब उपभोक्ताको हितमा ध्यान दिँदै ऊर्जा मन्त्रालयले २० युनिटसम्मको विद्युत महसुल निःशुल्क गरेकोमा धन्यवाद दिदै उत्पीडित वर्ग, जाति, समुदायको लागि आफूहरु सँधै लागिरहनुपर्ने धारणा राखे ।

फरक प्रसङ्गमा उनले पहिचानसहितको संघीयताले मात्र यथार्थमा सही अर्थमा जनताको माग सम्बोधन हुने विश्वास व्यक्त गरेका थिए ।
संघीयता, धर्मनिरपेक्षता, समानुपातिकतालगायतका उपलब्धीलाई धरासायी पार्ने प्रतिक्रियावादी तत्वहरुले चलखेल गरिरहे पनि सचेत जनताले त्यस्ता गतिविधिलाई निस्तेज पार्न अग्रसर हुन आह्वान गरे ।

कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, भूमिव्यवस्था मन्त्री शशी श्रेष्ठ, माओवादी केन्द्र वागमति प्रदेशका इञ्चार्ज हितमान शाक्यलगायतको उपस्थिति रहेको थियो ।

Loading...