मंगलबार नेपाल र बङ्गलादेश बीच मैत्रीपूर्ण खेल

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मङ्गलबार मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा हुने उक्त खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले जनाएको छ। यु–२३ का मुख्य प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहेको छ भन्दै एसियन कप छनोट खेलका लागि मैत्रीपूर्ण खेलले सहयोग गर्ने बताए।

त्यस्तै कप्तान विमल घर्ती मगरले १६ वर्षमुनि र १९ वर्षमुनि टोलीमा समावेश खेलाडी सहभागी भएकाले पनि तयारी राम्रो रहेको बताए।

बङ्गलादेशका अष्ट्रेलियाली कोच आन्द्रे ओर्डले नेपालविरुद्धको खेल कठिनका साथै प्रतिस्पर्धात्मक हुने बताए। सोही राष्ट्रका कप्तान सोहिल रानाले आफ्नो टोलीले सकेसम्म राम्रो खेल प्रदर्शन गर्ने बताउँदै मङ्गलबारको खेल जितेमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे।

बङ्गलादेशविरुद्धको खेल र युएइमा हुने छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक शाक्यले आइतबार घर्ती मगरको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए।

 

 

Loading...