कोभिडका कारण लकडाउनसँगै विद्यालय बन्द हुँदा अनौपचारिक रुपमा स्वाध्ययन गरेर आफ्नो शैक्षिक गतिविधि बढाए

काठमाडौं, असोज २२  । कोभिडका कारण लकडाउनसँगै विद्यालय बन्द हुँदा औपचारिकमा अध्ययन गर्न नपाएका धनुषा जिल्लासहित विभिन्न जिल्लामा अनौपचारिक रुपमा स्वाध्ययन गरेर आफ्नो शैक्षिक गतिविधि बढाएको एक अध्ययनले पुष्टि गरेको छ ।
‘निक शिक्षा दिउ’को शैक्षिक अभियानले वास्तवमै विद्यार्थीहरुको शिकाई क्षमता बढाउन सहयोग पुगेको हो ।
हालै उक्त अभियान सञ्चालन गरिरहेको ‘आसमान नेपाल’को एक सर्भेक्षण अनुसार ती विद्यार्थीको क्षमता बढेको पत्ता लागेको छ । करिब एकहजार २२७ जना विद्यार्थीहरुलाई यस तथ्याङ्कमा समावेश गरिएको थियो ।
सो परियोजनाले सञ्चालन गरेको विभिन्न वैकल्पिक शैक्षिक गतिविधिका कारण कोभिडको बेला घरमै बसेर पढ्ने विद्यार्थीको संख्या २५ प्रतिशतबाट बढेर ५४.२ प्रतिशत पुगेको छ ।
टिभी हेरेर अध्ययन गर्ने विद्यार्थी ४.६ बाट बढेर २८.७ प्रतिशत पुगेको छ भने रेडियो सुनेर अध्ययन गर्ने विद्यार्थी ३.२ प्रतिशतबाट उक्लेर ७.९ प्रतिशत पुगेको सो तथ्याङ्कले देखाउँछ ।
यस्तै ७०४ जना विद्यार्थी, अभिभावकलगायतसँग गरिएको शोध अनुसार वैकल्पिक शिक्षण सिकाइ अन्तर्गत सञ्चालित विभिन्न क्रियाकलापहरुको प्रभावकारिता पनि बढेको देखिएको छ ।
यस अध्ययनबाट ‘इच वान टीच फाइभ’ अर्थात एकले पाँचजनालाई पढाउने वैकल्पिक विधिबाट ७८.६ प्रतिशत विद्यार्थीहरु लाभान्वित भएका छन् ।
विभिन्न स्वाध्ययन सामाग्री वितरण गरेकोबाट शैक्षिक फाइदा लिनेहरु ५१.२ प्रतिशत रहेका छन् भने मोबाइलबाट गरिएको शिक्षण तथा शैक्षिक गतिविधिका ३८.३ प्रतिशत लाभान्वित भएका छन् ।
विद्यार्थीको क्षमता अभिवृद्धि गर्नको लागि अँग्रेजी, गणित र नेपाली विषयका स्वाध्ययन गर्न सामाग्रीहरु वितरण गरिएका थिए ।
प्रत्येक विषयका पाँच पाँचवटा प्रश्नहरुसहित कक्षा १ देखि ३ सम्मकालाई मोबाइलबाट अनौपचारिक परीक्षा लिइएको बताइएको छ ।
सो परीक्षाको नतिजा अनुसार वैकल्पिक सिकाइमा विशिष्ट श्रेणीमा ५.८, उत्कृष्ट १९.६, मध्यम उत्तीर्ण ४५.३, कमजोर २९.३ प्रतिशत रहेका छन् । विशिष्ट श्रेणीमा ५.८ अर्थात् ७१ जना विजेता घोषितलाई ‘आसमान नेपाल’ले पुरस्कृत गर्नेछ ।
एक टोल, एक शिक्षक परिचालन गर्दै अभ्यास पुस्तिका वितरण, एकले पाँचजनालाई पढाउने’ र ‘घरमे स्कुल, अभिभावक बनु शिक्षक’ अभियान र मोबाइलबाट शिक्षण तथा प्रश्नउत्तर सोध्ने (हाजिरीजवाफ) गर्ने अभियान सञ्चालित थिए ।
आमा समूह, छात्रा सञ्चाल, बाल क्लबहरु गठन गरेर सामाजिक र आर्थिक रुपमा पछि परेर विद्यालय जान नपाएका वालवालिकालाई विद्यालयसम्म पु¥याउने, विद्यालयमा पनि निरन्तर रुपमा अनुगमन र विभिन्न शैक्षिक गतिविधि हुँदै आएका छन् ।
यसरी निरन्तर रुपमा क्रियाकलापहरु भएपछि करिब ८० प्रतिशत विद्यार्थीहरु नियमित रुपमा विद्यालयमा पुगेको र तीस प्रतिशतबाट बढेर ६० प्रतिशतसम्म शैक्षिक क्षमता बढेको आसमान नेपालको तथ्याङ्कमा उल्लेख छ ।
यस विषयमा प्रतिक्रिया लिँदा गणेशमान चारनाथ नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छोटी मुखियाले करिब डेढ दशकदेखि चलिरहेको शैक्षिक अभियानले उल्लेखनीय सफलता पाएको स्पष्ट पार्नुहुन्छ ।
अभियान सञ्चालनमा रहेका विद्यार्थीहरुको पढाईलेखाईको स्तर अन्य गाउँपालिकाका विद्यालय र विद्यार्थीको भन्दा उच्च रहेको उहाँले स्किार्नुहुन्छ ।
उहाँका अनुसार यस परियोजनाका कारण यस क्षेत्रमा शैक्षिक पुनःजागरण नै आएको छ ।
यस्तै, लक्ष्मनियाँ गाउँपालिकाको नगडियास्थित ज्ञानोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार लाल कर्णले यस संस्थाले शुरु गरेको अभियानका अनुसार शिक्षक, अभिभावक र विद्यार्थीहरुमा पढ्ने र पढाउनुपर्छ भने जागरण बढेको बताउनुहुन्छ ।
उहाँका अनुसार नेपाल सरकारले गर्नुपर्न दायित्व बेवास्ता जस्तै भैरहेकाले पनि गैरसरकारी संस्थाका यस्ता गतिविधिका कारण नेपालमा शैक्षिक जागरणमा भूमिका खेल्न पुगेको जानकारी दिनुभयो ।
त्रिविको विएड अध्ययन गरिरहनुभएकी अधिकारीले ‘एकले पाँचलाई पढाउने’ अभियानमा छ महिना शिक्षिका बन्दा विद्यार्थीहरुको क्षमता बढेको बताउनुभयो ।
यस्तै, शिक्षा र वालश्रमको क्षेत्रमा क्रियाशील ‘आसमान नेपाल’ परियोजनाका टिम लिडर दिलिप यादवले अनवरत रुपमा अभियान सञ्चालन गर्दै आएकोमा करिब दुई वर्षसम्म कोभिड भएपछि विद्यालय बन्द हुँदा शैक्षिक गतिविधि न्यून हुने अवस्थामा यस परियोजनाको महत्व झन् बढेको विचार व्यक्त गर्नुभयो ।
यही समयलाई सदुपयोग गर्दै शैक्षिक गतिविधिका विभिन्न वैकल्पिक उपायलाई अभ्यासमा प्रयोग गर्दै अभिभावलाई विद्यालयमा भर्ना गराउनुपर्छ, शिक्षकशिक्षिकाहरुलाई व्यवस्थित रुपमा प्रभावकारी रुपमा अध्यापन गराउनुपर्छ र विद्यार्थीहरुले पनि प्रयोगात्मक रुपमा पाठ्यपुस्तकलाई सरलीकृत गर्दै व्यवहारिक अध्ययन गर्नसक्ने क्षमता अभिवृद्ध गर्न सकेको औंल्याउनुहुन्छ ।

 

 

–उपेश महर्जन (जनकपुरधामबाट फर्केर आएपछि)