बागमती प्रदेशमा सूचना संकलन र भण्डारण गर्न एग्रिगेटर सूचना बैंक सञ्चालन

असोज २२ ,हेटौँडा । बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा आएको छ । उक्त सूचना बैंकको आज आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर अजयक्रान्ति शाक्यले हेटौँडामा उद्घाटन गर्नुभयो । उद्घाटनपछि सम्वोधन गर्दै मन्त्री शाक्यले बागमती प्रदेशको सूचना बैंकमा अब प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट उपलब्ध हुने जानकारी दिनुभयो । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम सञ्चार रजिष्ट्रार कार्यालयमार्फत एग्रिगेटर सूचना बैंक सञ्चालनमा आएको हो । मन्त्री शाक्यले नेपालमा पहिलो पटक बागमती प्रदेशमा सूचना बैठक सञ्चालनमा आउनु गर्वको बिषय भएको बताउनुभयो ।
गभर्नेस अटोमेसन सोलुसनले तयार गरेको सूचना बैंकमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय,भौतिक पूर्वाधार बिकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,प्रदेश नीति तथा योजना आयोग, सञ्चार रजिष्ट्रारको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, यातायात पूर्वाधार निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वेवसाइटमा राखिएका सूचना सूचना बैंकमा संग्रहित गराइएको छ ।
प्रदेश सूचनाको हक सम्बन्धी ऐन, २०७६ को दफा ३, ४ र ५ बमोजिम प्रदेश सरकारले सरकारी तथा सार्वजनिक निकायबाट प्रकाशित नागरिकसँग सरोकार राख्ने र सार्वजनिक महत्वको सूचनाहरु संकलन, भण्डारण र वितरण गर्न सूचना बैंक उपयोगी हुने भएकोले सूचना बैंकको स्थापना गरिएको जानकारी दिइएको छ ।
सूचना बैंकको सुरुवातसँगै आधिकारिक सार्वजनिक सूचनाहरु छिटो तथ सहज रुपमा प्राप्त गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्न, डिजिटल नेपाल र डिजिटल बागमती प्रदेश बनाउने सरकारको उद्देश्यलाई साकार पार्न प्रदेशका सबै मन्त्रालय र अन्तर्गतका कार्यालयका सूचनालाई एक ठाउँमा केन्द्रित गरी सूचनाका उपभोक्तासम्म पुरयाउन उपयोगी हुनेछ ।
हाल प्रदेशका १४ वटा कार्यालयका वेवसाइटमा राखिएका सूचना तथा अन्य महत्वपुर्ण सामग्री सूचना प्रविधिको प्रयोग मार्फत तत्कालै सूचना बैंकमा संग्रहित हुने पनि जानकारी दिइएको छ ।

Loading...