धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्न प्रचण्डको निर्देशन

असोज २२ ,भक्तपुर । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना कर्यकर्तालाइ धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्न निर्देशन दिएका छन् ।

शुक्रवार भक्तपुरको सूर्यविनायकमा आयोजित पार्टीको जिल्ला बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालिन सत्तासंगै बिद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई कमजोर पार्नखोज्नेलाई लखेट्न निर्देशन दिएका  हुन् ।

तत्कालिन जनयुद्धका सुप्रिम कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्डले उतिबेला जाली फटाहहरुलाई लखेटे जस्तैगरी यतिबेला धन र डनको राजनीति गर्नेहरुलाई लखेट्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई हार्ने छुट नभएको भन्दै संगठन निर्माणको बिकल्प नभएको बताए । आफ्नो पार्टीले हारे माओवादी एजेन्डाले हार्ने र अन्तत परिवर्तित व्यवस्था र देशले नै हार्नसक्ने तर्फ सचेत भएर पार्टी संगठन सुद्रिढ गर्नुपर्ने उनको भनाइ छ ।”संविधान हामीले बनाएको हो, संघीय लोकतान्त्रिक गणतन्त्र हामीले ल्याएको हो । समावेशी, समानुपातिक र धर्म निरपेक्षता लगायतका मुद्दा हाम्रो हो ।” उनले भने “त्यसैले यसको रक्षा र बिकास गर्ने अभिभारा पनि हाम्रै हो ।”

उक्त अवसरमा अध्यक्ष प्रचण्डले देशलाई समाजवाद तर्फ लैजान केपी ओलीको एमालेसंग एकता गरेको भएपनि उनी प्रतिगमनकारी कित्तामा उभिएको आरोप लगाए । माओवादी केन्द्र पूरा इमान्दारीताका साथ् एकताको पक्षमा रहेको भएपनि नियोजितरुपमा पार्टीलाई बिभाजन गराइदा कम्युनिष्ट आन्दोलन कमजोर बनेको उनले बताए । यद्यपी सच्चा र क्रान्तिकारी कम्युनिष्ट धार र प्रतिगमनकारी धारलाई जनताले चिन्न अवसर पाएकाले अन्तत प्रतिगमनकारीहरु परास्त हुने उनले बिश्वास समेत व्यक्त गरे ।

पार्टी एकता अघि नेपाली काँग्रेस लगायतका दलले ५ वर्ष नै आफूलाई प्रधानमन्त्री अफर गरेको खुलासा गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले बलियो कम्युनिष्ट पार्टी बनाएर समाजवाद तर्फ जाने लक्षबाट आफू त्यतिबेला बिचलित नबनेको र पार्टी एकता गरेको जानकारी गराए । ” परिस्थिति तपाईहरुको सामुन्नेमै छ – उतिबेला मलाई प्रधानमन्त्री अफर गर्ने नेतालाई यतिबेला हामीले नै बलजफ्ती गरेर प्रधानमन्त्री बनाउनुपर्यो ।” उनले भने । तत्कालिन प्रधानमन्त्री केपी ओली कम्युनिष्टको नाममा प्रतिगमनकारी नेता भएकोले उनलाई बर्खास्त गरी बालकोट पुर्याउनु ठुलो उपलब्धी भएको उनको भनाइ छ ।

कार्यक्रममा सूर्यविनायक नगर कमिटीका संयोजक जीवन तज, मध्यपुर थिमीका संयोजक विजय श्रेष्ठ, त्यसैगरी चाँगुनारायणका संयोजक नरेश खड्का र भक्तपुरका संयोजक सुनिल गोथे बासुले समसामयिक राजनीति र संगठनका बिषयमा नगरभित्रको रिपोर्टिंग प्रस्तुत गरेका जिल्ला सदस्य युवराज आचार्यले बताए ।

भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय समितिका संयोजक डिपी ढकालले गरेका थिए भने नेता ओम वाग्लेले स्वागत मन्तब्य दिएका थिए । उक्त अवसरमा केन्द्रीय सदस्य समेत रहेका इन्चार्ज भिष्म, अर्का केन्द्रीय सदस्य सूर्य सुवेदी पथिक, सह इन्चार्ज देवेन्द्र श्रेष्ठ दिवाकर, फ्र्याक्सन इन्चार्ज सुरेश न्यौपाने, प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ लगायतले समसामयिक राजनीति तथा आगामी रणनीति र कार्यदिशाबारे बताएका अर्का जिल्ला सदस्य दिनेश थपलिया आक्रोशले जानकारी गराए ।

 

Loading...