मार्तडी र कोल्टी डिपोमा चाल सकियो

बाजुरा, २ असोज । चामल सकिँदा बाजुरा सदरमुकामस्थित मार्तडी डिपो सूचना टाँस गरेर बन्द गरिएको छ । पूर्वीउत्तरी क्षेत्रका चार स्थानीय तहमा खाद्यान्न वितरण गर्दै आएको कोल्टी डिपोसमेत एक महिना अगाडीबाट विक्री बन्द रहेको छ ।

साँफे-मार्तडी सडक खण्ड र मार्तडी-कोल्टी सडक खण्ड वर्षादले भत्काएको दुई महिनासम्म पनि सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको कोल्टी शाखाले जनाएको छ ।

कोल्टी डिपोले स्वामिकार्तिग खापार, जगन्नाथ, हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयलाई खाद्यान उपलब्ध गराउँदै आएको थियो । सदरमुकाम मार्तडीको डिपोले मार्तडी आसपासमा खाद्यान्न वितरण गर्दै आएको थियो ।

अहिले मार्तडी र कोल्टीमा गरी जम्मा ६५ क्विन्टल मात्र चामल बाँकी छ। त्यो कैदैबन्दीहरूका लागि पनि नपुग्ने भएपछि बन्द गरिएको हो । संस्थानमा चामल सकिएपछि स्थानीय महँगो चामल किनेर खान बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टी शाखामा मोटो चामल एक केजीको ४८ रुपैयाँ पर्छ भने बजारमा सोही चामल प्रतिकेजी ७० रुपैयाँ भन्दा बढिपर्छ ।

बाजुरामा आफ्नो उत्पादनले तीन महिना मात्र खान पुग्ने जनसंख्या ४० प्रतिशत छ । जिल्लामा हरेक वर्ष एघार हजार मेट्रीकटन खाद्यान्न अभाव हुँने गरेको छ । त्यसको पूर्ति लिमिटेडले गर्ने गरेको थियो । कोरोनाले समस्यामा रहेका यहाँका जनतालाई भोकमरीले सताउने देखिन्छ ।

कृषि ज्ञान केन्द्रको कार्यालय बाजुराले दिएको जानकारी अनुसार जिल्लाको पुरा क्षेत्रफलको ९.२१ प्रतिशत खेतीयोग्य जमिन छ । त्यसमा जम्मा सिँचाई सुविधा भएको जमिन १.४२ क्षेत्रफल मात्र रहेको छ ।

जिल्लाको कूल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिँचाइ सुविधा रहेका छ । बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो । बाली सप्रेकै अवस्थामा समेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कृषि कार्यालयको तथ्यांक छ ।

कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले भने,‘बाजुरा खाद्य सुरक्षाको उच्च जोखिमयुक्त जिल्ला हो । बाली सप्रेकै अवस्थामासमेत यहाँ वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ । यस वर्ष गहुँ खेतीसमेत त्यति राम्रो नभएको उनले बताए ।

नागरिक समाज बाजुराका अध्यक्ष अग्निराज शाहीले मान्छेले बाँच्न पाउने अधिकार राज्यले सुरक्षित गरिदिनु पर्ने बताए । ‘चारै तिरको बाटो पहिरोले बगाएकाले तिहार अगाडी खोल्न सम्भव छैन । कोल्टीमा रहेको एरपोटबाट हवाईमार्फत ढुवानी गरेर चाँडो भन्दा चाँडो खाद्यान्न आपूर्तिमा जोड दिनु पर्ने देखिन्छ,’ उनले भने ।

Loading...