अनु र रशिला दोस्रो चरणमा

काठमाडौं, २ असोज । विभागीय त्रिभुवन आर्मी क्लबकी अनु माया राई र रशिला महर्जन प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपअन्तर्गत महिला एकलको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाईव लिजर पार्कको कोर्टमा शनिबार भएको महिला एकलको पहिलो चरणमा आर्मीकी अनुमायाँ राईले नेपाल एपीएफ क्लबकी शोर्भा गौचनमाथि २१-१७ र २१-११ ले पराजित गरिन् ।

आर्मीकी रशिला महर्जनले नखिपोट यूथ क्लबकी नविना राईमाथि २१-२ र २१-६ को एकपक्षीय जित निकालिन् ।

यस्तै एपीएफकी सुनैना मुखियाले आर्मीकी प्रेक्षा राईलाई २१-७ र २१-१५ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाइन् । एपीएफकी जेशिका गुरुङले आर्मीकी प्राथना देउवामाथि २१-९ र २१-१५ को सहज जित निकालिन् ।

यस्तै फिलिट नेपालकी सीमा राजवंशीले हरिसिद्धि क्लबकी सुनेना महर्जनलाई २१-५ र २१-२ को सोझो सेटमा हराइन् । यस्तै नेपाल पुलिस क्लबकी निता लम्सालले बीबीसीकी प्रतिष्ठा अर्याललाई २१-१० र २१-७ ले तथा आर्मीकी रोज पाण्डेले जेस्ट ब्याडमिन्टन एकेडेमीकी तारा आलेमगरलाई २१-५ र २१-१० ले हराइन् ।

पुरुष डबल्सतर्फ शनिबार राउन्ड अफ ६४ को खेल सम्पन्न भएका छन् । आइतबार पुरुष एकतर्फको राउन्ड अफ ३२ को सबै १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । पुरुष युगल र ४० वर्षमाथिको भेट्रान्समा राउन्ड अफ ३२ को सबै १६ खेलको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० वर्षमाथिको भेट्रान्स युगल गरी ४ विधामा खुल्ला प्रतिस्पर्धा हुने छ ।

करिब १७ लाख अनुमानित बजेट रहेको च्याम्पियनसिपमा विजयी खेलाडी तथा टिमलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । पुरुष एकल र महिला एकलका विजयी शीर्ष तीनले नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्नेछन् ।

यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त जोडीले नगद ५० हजार, २५ हजार र १० हजार तथा ४५ वर्षमाथिको भेटरान्स युगलतर्फ शीर्ष तीन जोडीले नगद २५ हजार, १५ हजार र ५ हजार प्राप्त गर्नेछन् ।

Loading...