काठमाडौँ । काठमाडौँ महानगरका वडा १५, १७ र २७ मा ’समुदायमा आधारित विपद व्यवस्थापन परियोजना’ सञ्चालन हुने भएको छ । जापान सरकारको विदेश मन्त्रालयले उपलब्ध गराएको आर्थिक सहयोगमा जापान अन्तरराष्ट्रिय सहयोग कार्यक्रम, काठमाडौँ महानगरपालिका र राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ, नेपालको सहकार्यमा परियोजना सञ्चालन हुनेछ ।
कार्यक्रमअन्तर्गत विपद व्यवस्थापन सञ्जाल निर्माण र शशक्तिकरण क्रियाकलाप, प्रकोप जोखिम तथा प्रभावित क्षेत्रका समुदायलाई विपद् व्यवस्थापन सामाग्री वितरण, राहत र पुनस्र्थापना कार्यक्रम, विपद पूर्व तयारीका लागि जागरणमुलक क्रियाकलाप सञ्चालन गरिनेछन् । यसैगरी नेपाल सरकारले निर्माण गरेको विपद रणनीति योजनालाई स्थानीयकरण गर्न सहयोग गरिनेछ भने नेपाल सरकार जापान सरकारका अधिकारीविच अनुभव आदानप्रदान गरिनेछ ।
आज बसेको सञ्जालको पहिलो बैठकमा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, भौगोलिक परिस्थितिअनुसार नेपालमा प्राकृतिक र मानव सिर्जित दुवै खालका विपत्ति हुने गरेको बताउँदै रोक्न नसकिने विपत्तिबाट समुदायमा कमभन्दा कम क्षतिका लागि तयारीमा जुट्न अवेर भइसकेको बताउनुभयो । ‘समुदायको क्षमता बढाउन सकियो भने जीवन रक्षाको पहिलो भरपर्दो काम त्यहीँबाट सुरु हुन्छ ।’ उहाँले भन्नुभयो, ‘प्रतिकुल परिस्थितिको नेतृत्व गर्ने जनशक्ति उत्पादन गर्नु अहिलेको प्राथमिक काम हो ।’
त्यस क्रममा सहरी विकास, सहरी आचरणका अभ्यासमा कुरा गर्दै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, आफ्नो वडाको डल्लु आवास क्षेत्रमा सडक र खाली ठाउँका लागि स्थानीयको जग्गा योगदानको कुरा गर्दा आफूले धेरै आलोचना खेपेको विगत स्मरण गर्नुभयो । भुइँचालेमा खाली जमिन चाहिएपछि बल्ल त्यसबेलाका कामको प्रशंशा भएको थियो । बस्नका लागि घरको जति खाँचो छ । आपतमा बाँच्नका लािग खुल्ला ठाउँको त्यति नै खाँचो छ । यस्ता विषयमा बुझाइ बढाउनु छ । डंगोलको भनाइ थियो ।
अहिले प्राकृतिक र मानवीय क्रियाकलापबाट सिर्जना भएका दुवै खाले विपत्तिबाट जनधनमा जोखिम बढेको छ । बैठकमा विपद व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले, विपदमा परेका व्यक्तिलाई बचाउन समुदायलाई सक्षम बनाउने कुरामा समिति सहकार्यका लागि तत्पर रहेको उल्लेख गर्नुभयो । हाम्रो जिम्मेवारी भनेकै नागरिकको जिउ र धनको सुरक्षा गर्नु हो । यसमा हामी कन्जुस्याइँ गर्दैनौँ । विपत्ति अरु काम जस्तो होइन । यसमा सबै क्षेत्रकाविचमा सहकार्य आवश्यक छ । यो विषयलाई हामीले बुझेका छौँ । शाक्यको भनाइ थियो ।
यो परियोजना काठमाडौँ महानगर र सप्तरीको सप्तकोशी नगरपालिकाका छनौटमा परेका वडाहरुमा सञ्चालन हुनेछ । परियोजना सकिएपछि वडामा समावेशी र लक्षित समूहलाई पनि बचाउन सकिने समुदायस्तरीय प्रतिकार्य संयन्त्र तयार हुनेछ । महानगरको विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले, विपत्तिका बेला भाग्नु पर्छ भनेर बुझ्न नसक्ने, भाग्नु पर्छ भन्ने थाहा हुने तर शारीरिक रुपमा हलचल गर्न नसक्ने, जुन समय र गतिमा आफूलाई बचाउनु पर्ने हो, त्यसो गर्न नसक्ने बालबालिका, महिला, जेष्ठ नागरिक, मानसिक र शारीरिक अस्वस्थ्यता भएका सबैको जीवन रक्षा गर्न प्रयत्न गर्ने संयन्त्र तयार हुनेछ ।
यसका क्रियाकलापअन्तर्गत महानगरको विपद व्यवस्थापन विभाग र सहरी स्वास्थ्य विभागका अधिकारी, परियोजनाका लागि छानिएका वडाका जनप्रतिनिधि, विपद व्यवस्थापन स्वयमसेवकलाई प्रभावकारी सामुदायिक विपद व्यवस्थापन गर्न क्षमता विकासका तालिम दिइनेछ । जापान अन्तरराष्ट्रिय सहयोग कार्यक्रमका प्रतिनिधि निर्देशक मायुमी योसिदाले परियोजनाको कार्यक्षेत्र र क्रियाकलापका विषयमा जानकारी दिँदै, आपसी अनुभव, ज्ञान र सिपको आदान प्रदानबाट समुदायलाई प्रतिकार्यमा तत्पर गराउन सकिने उल्लेख गर्नुभयो । ‘हामीसँग नमूना वडाका समुदायलाई सम्भावित विपदको सामना कार्यक्रमअन्तर्गत व्यवस्थापन सञ्जाल निर्माण र शशक्तिकरण क्रियाकलाप सञ्चालन सम्बन्धि अन्तरराष्ट्रिय नगरहरुको अनुभव पनि छ ।’ योसिदाले, काठमाडौँ महानगरसँगको सहकार्यबाट प्रकोप जोखिम तथा प्रभावित क्षेत्रका समुदायलाई विपद् व्यवस्थापन सामाग्री वितरण, राहत र पुनस्र्थापना कार्यक्रम, विपद पूर्व तयारीका लागि जागरणमुलक क्रियाकलापमा महसुस योग्य परिणाम ल्याउन सकिने बताउनुभयो ।
कार्यक्रमअन्तर्गत नेपाल सरकारले निर्माण गरेको विपद रणनीति योजनालाई स्थानीयकरण गर्न सहयोग गरिनेछ भने नेपाल सरकार जापान सरकारका अधिकारीविच अनुभव आदानप्रदान गरिनेछ कार्यक्रमका नेपाल निर्देशक विजय श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा योसिदाले जापान अन्तरराष्ट्रिय सहयोग कार्यक्रममा विषयमा र कार्यक्रमका क्लिनिकल मनोपरामर्शदाता डा. विजय ज्ञवालीले जापानका विज्ञहरुलाई अनलाइनमार्पmत जोडेर संयुक्त रुपमा परियोजना सञ्चालन तालिकाका विषयमा प्रस्तुति गर्नुभएको थियो । उहाँकाअनुसार यसअन्तर्गत कोठाभित्र गरिने क्षमता विकासका कार्यक्रममा तालिम, गोष्ठी, घटनाको अध्ययन लगायतका क्रियाकलाप हुनेछन् भने प्रदर्शन र प्रयोगात्मक सिकाइ बाहिरी कार्यक्रमका रुपमा गरिनेछन् ।
बैठकमा वडा सदस्य परिवेशमान बज्राचार्यले ०७२ सालको भूकम्पका बेला जनप्रतिनिधिहरुले गरेको व्यवस्थापन प्रयासका बारे अनुभव सुनाउनुभएको । त्यसबेला ज्ञान भएन भने ठूलो अपत हुन्छ । तर सामाग्री भएन ज्ञान भएर मात्र पनि नहुने रहेछ । बज्राचार्यले समुदायमा खोज उद्धारका सामाग्री उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो । त्यस क्रममा सामाजिक परिचालक संगीता महर्जनले खोज उद्धारका लागि नेतृत्व क्षमताको खाँचो पर्ने बताउनुभयो ।
छलफलका क्रममा भूकम्पका समयमा अपनाउनु पर्ने सुरक्षा प्रयास, घरबाट बचेर बाहिर आएपछिको सुरक्षा, त्यसबेला मृत्यु हुनेहरुको व्यवस्थापन, घाइते भएकाहरुको उपचार, सामान्य तर घर फर्किन नसक्नेहरुको बास र खानाको प्रबन्ध कसरी हुन सक्छ? विषयमा छलफल भएको थियो । त्यसैगरी घटना सम्झिएर डराउने, तर्सिने र सामान्य जीवन असजिलो हुनेहरुसहितका विरामीहरुको पुनस्र्थापनाको योजनाका विषयमा कुरा भएको थियो । भूकम्पसँगै बाढी, हुरी, सडक दुर्घटना, पहिरो, आगलागी, सडक दुर्घटनाजस्ता घटना व्यवस्थापनमा समुदायको भूमिकाका विषयमा छलफल भएको थियो ।
काठमाडौँ महानगरका ३ वटा वडामा ‘समुदायमा आधारित विपद् व्यवस्थापन नमूना कार्यक्रम
लक्षित समूह र समावेशी प्रकृतिको प्रतिकार्य योजनाबाट समुदायको क्षमता बढाउने लक्ष्य