आज यो वर्षकै ठूलो वर्षा, राजधानीकै ३८५ घरमा डुबानमा, बनेपा पनि डुबानमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा यो वर्षकै ठूलो वर्षा भएको छ ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौँ उपत्यका चार घण्टामा नै यो वर्षकै धेरै वर्षा भएको छ । बिहान ६ बजेको मापनमा काठमाडौँमा १०५ मिलिमिटर वर्षा भएको छ । भक्तपुरको नगरकोटमा ४१ मिलिमिटर वर्षा भएको छ ।

राति २ बजेदेखि बिहान ६ बजेसम्म परेको ‘अति भारी’ वर्षाले एक सयभन्दा बढी स्थानमा डुबान भएको छ । भारी वर्षापछि काठमाडौँ उपत्यकाका साना तथा ठूला नदीको तटीय क्षेत्रमा डुबान भएको छ । वाग्मती, विष्णुमती, धोवीखोला, हनुमन्ते, मनहोरा खोलालगायतका तटीय क्षेत्रमा बाढीपछि डुबान भएको विवरण प्राप्त भएको छ ।

काठमाडौँको अनामनगर, रातोपुल, कालोपुल, बल्खुलगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको केही साना गाडी बगाएको प्रहरीले जनाएको छ । त्यस्तै बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।

यस्तै टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पती चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी, काँडाघारीलगायतका क्षेत्र डुबानमा परेपछि उद्धारमा प्रहरी खटाइएको छ ।

सोमबार बिहान ८ बजेसम्म ३८५ घरधुरी डुबानमा परेको सूचना आएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठौरले जानकारी दिए ।

ठाउँठाउँमा डुबान र बाढीको सूचना प्राप्त भएपछि राति नै एक सयभन्दा बढी ठाउँमा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

भारी वर्षाले काभ्रेको बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात अवरुद्ध भएको छ । केही साना सवारीसाधन सडकमै डुबेको प्रहरीले जनाएको छ ।

होचो भू-भागमा रहेका घर डुबानमा परेका छन् छन् । खोला साँघुरिएको कारण पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ ।

यसैबीच रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका-१० वडा कार्यालय नजिकै बाम्ला पहिरोले पूर्ण बहादुर थापाको घर पुरिँदा उनकी श्रीमती ७० वर्षीया गौरी थापा र ५ वर्षीय बालकको मृत्यु भएको छ । मृतक बालकको नाम खुलेको छैन ।

मृतक हजुरआमा र नाती रहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । पहिरोमा पुरिएर अरु दुई जना घाइते भएका छन् । घाइते हुने बाबु छोरी हुन् ।

Loading...