चीनले प्रक्षेपण गरेको रकेटको ठूलो टुक्रा पृथ्वीमा खस्ने चिन्ता

काठमाडौं । चीनले प्रक्षेपण गरेको एक रकेटको ठूलो टुक्रा पृथ्वीमा खस्ने चिन्ता बढेको छ।

रकेटको त्यो टुक्रा पृथ्वीतर्फ अघि बढिरहेको र खस्न सक्ने जोखिम देखिएको दाबी गरिएको छ। तर यसको स्पष्ट जानकारी प्राप्त भइसकेको छैन।

चिनियाँ रकेट लङ मार्च–५बी गत अप्रिल २९ मा चीनको हाइनान टापुबाट प्रक्षेपण गरिएको थियो। त्यसैको ठूलो टुक्रा पृथ्वीमा खस्ने चिन्ता बढेको हो। जसको वजन झन्डै १८ टन छ र यो दसकौंयताकै पृथ्वीको वायुमण्डलमा अनियन्त्रित भई खस्ने गह्रौं वस्तु हुनेछ।

यसप्रति चीन मात्र होइन, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पनि ध्यानाकर्षण भएको छ।

बिहीबार अमेरिकाले यसबारे आफूलाई जानकारी भएको तर तत्काल यसलाई नष्ट गर्ने कुनै योजना नबनेको बताएको छ।

अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन भन्छन्, ‘हामी आशा गर्छौं– त्यो त्यस्तो स्थानमा खसोस्, जहाँ कुनै क्षति नहोस्। अपेक्षा छ– समुद्रमा वा यस्तो कुनै ठाउँमा त्यो खसोस्।’

पृथ्वीमा कहिलेसम्म आइपुग्छ?

अन्तरिक्ष विज्ञका अनुसार त्यो रकेटको टुक्रा आइतबारसम्ममा पृथ्वीमा खस्ने सम्भावना छ। तर यस्तो विषयमा कुनै कुरा ठोकुवा गर्न सकिन्न।

गत अप्रिल २९ मा प्रक्षेपण गरेपछि लङ मार्च–५बी लगातार तलतिर झरिरहेको छ। रकेटको टुक्रा कति तीव्र गतिमा तल खस्छ भन्ने कुरा उचाइमा हावाको घनत्व र चापमा भर पर्छ। तर अहिलेसम्म यी सबै विषयमा कुनै जानकारी छैन।

सामान्यतया रकेटको भग्नावशेष पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि जल्छन्। तर केही भाग बचेर पृथ्वीसम्मै आइपुग्ने सम्भावना रहन्छ। साधारणतया त्यस्ता टुक्रा निकै साना हुन्छन्।

एक वर्षअघि पाइप आकारको रकेटको यस्तै टुक्रा अफ्रिकाको आइभरी तटमा खसेको थियो।

रकेटको टुक्राले कुनै किसिमको क्षति पुर्‍याउने सम्भावना भने निकै कम हुन्छ। किनकि पृथ्वीको धेरै भूभाग मानव बसोबासरहित छ।

Loading...