नेपाललाई ‘फकाउन’ गरिरहेको प्रयास असफल , विवाद झन् बढ्दै

 

काठमाडौँ। सत्तारूढ एमालेका पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्ग ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘फकाउन’ गरिरहेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ ।

प्रधानमन्त्री ओली २७ वैशाखमा संसदबाट विश्वासको मत लिने प्रयासमा छन् । ६ जेठमा बाग्मती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ । यी दुई विषयमा केन्द्रित भएर ओली–नेपाल समूहबीच विभिन्न स्तरमा छलफल जारी छ ।

ओली नेपाल पक्षले आफूलाई विश्वासको मत दिनुका साथै उपनिर्वाचनमा बिनासर्त सहयोग गर्नुपर्ने जिकिर गरिरहेका छन् । तर, नेपाल पक्ष भने पार्टीलाई २ जेठ, २०७५ को अवस्थामा फर्काएर नयाँ ढंगले अघि बढनुपर्ने अडान राख्दै आएको छ । ‘एमाले धेरै नै अघि बढिसकेकाले’ फर्किन नसक्ने ओलीको अडान छ ।

शीर्ष नेताको अडानबीच पार्टी एकता कायम राख्दै अघि बढ्ने विषयमा दोस्रो तहका नेता आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार ओली समूहका नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्बाङ, विष्णु रिमाल र नेपाल पक्षका नेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टबीच छलफल भएको छ ।

‘पार्टी एकता जोगाउने विषयमा केही समययता हामीबीच सामूहिक तथा छुट्टाछुट्टै छलफल भइरहेको छ,’ छलफलमा सहभागी एक नेताले भने– ‘अझै केही समहमति भएको छैन, सहमति जुटाउने प्रयासमा केन्द्रित छौं ।’ एमालेको ‘एकता जोगाउन’ राष्ट्रपति विद्यादेवी भण्डारी समेत सक्रिय भएको बुझिएको छ ।

शीर्ष नेता अडानबाट टसमस नभएपछि पार्टी विभाजन हुने निश्चित भएपछि राष्ट्रपतिले समेत नेताहरूबीच सहमति गराउन पहल गरिरहेको स्रोतले दाबी गरेको छ।
यो खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...