कविको जन्मदिनमा काव्य–विमर्श र वाचन

छन्दवादी समाज नेपाल, रूपन्देहीले छन्द अभियन्ता, कवि तथा प्राज्ञ डा. देवी नेपालको जन्मदिनमा उहाँकै नवीनतम कृति ‘समुद्रमन्थन’माथि काव्यिक विमर्श गरेको छ । कार्यक्रमकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कृतिभित्रको एउटा श्लोक वाचन गरी गर्नुभएको थियो ।

उक्त कार्यक्रममा डा. गुरुङले परिष्कृत र कलात्मक भाषाशैलीको प्रयोग गरी पुराणकालील बिम्बहरूलाई लाक्षणिक रूपमा प्रस्तुत गरिएको यस कृतिले वर्तमानको राजनीतिक नेतृत्वभित्र पनि मन्दराचल पर्वत डुब्न लाग्दा कछुवा बनेर बोक्ने विष्णु र कालकुट विष निस्कँदा पिउन सक्ने शिवजस्तै नेतृत्वको अपेक्षा गरेको विचार व्यक्त गर्नुभयो ।

अघिल्लो लकडाउनका बेलामा लेखिएको र २०७७ मंसिरमा प्रकाशन भएको ‘समुद्रमन्थन’ खण्डकाव्यका बारेमा बोल्दै विशिष्ट अतिथि प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् उपाध्यायले पौराणिक विषयलाई नवीन दृष्टिले हेरिएको र युगानुकूल भावविधान गरिएको यस कृतिले समुद्रको मन्थनलाई विचारको मन्थनका रूपमा प्रस्तुत गरेको र भिन्न भिन्न विचारको मन्थन र तिनको व्यवस्थापन लोकतान्त्रिक समाजको सबैभन्दा सुन्दर पाटो भएको हुनाले यस कृतिको युगीन महत्त्व रहेको विचार व्यक्त गर्नुभयो । साथै, उहाँले यस्ता कृतिहरूलाई विश्वविद्यालयका नेपाली पाठ्यक्रममा समावेश गर्नुपर्ने अवधारणा राख्नुभयो ।

यसरी नै वरिष्ठ कवि प्रा. घनश्याम कँडेलले पौराणिक विषय भए पनि यो कृति माक्र्सवादी सौन्दर्य शास्त्रीय भावभूमिमा रचना भएको विचार व्यक्त गर्नुभयो । त्यस्तै सुप्रसिद्ध भाषाशास्त्री प्रा.डा. माधव पोखरेलले ‘समुद्रमन्थन’ खण्डकाव्यमा लोकतान्त्रिक समाजमा हुने विचारको मन्थनलाई प्रतिविम्बित गरिएको हुँदा पुराणकालीन देवता शिवले कालकूट विष पान गरेजस्तै वर्तमान नेपाली राजनीतिमा पनि त्यस्तै युगपुरुषको खोजी गर्नका लागि यो कृति लेखिएको हुन सक्ने विचार व्यक्त गर्नुभयो ।

कृतिका बारेमा बोल्दै प्रा. मोहन सिटौलाले ‘समुद्रमन्थन’ले पूर्वीय मिथकको गौरवलाई तार्किक रूपमा प्रस्तुत गरेको हुनाले यस्ता कृतिहरूलाई अङ्ग्रेजीमा अनुवाद गरेर विश्वबजारमा पुर्याउनुपर्ने र पूर्वीय जगत्का यस्ता ज्ञानगौरवका बारेमा विश्वलाई पढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । त्यस्तै, कवि तथा समालोचक प्रभा भट्टराईले छन्दविधान, काव्यात्मक मूल्य र विचारको व्यवस्थापन आदि सबै कुरामा कृति उच्चकोटिको रहेको विचार व्यक्त गर्नुभयो ।

“एसियाली भूमि ज्ञानभूमि हो, यहाँका प्रत्येक खोला, पहाड, रुख र ढुङ्गाहरूमा अनेकौँ कथाहरू लुकेका छन्, पूर्वीय जगत्मा रहेका अनगिन्ती वैदिक तथा पौराणिक मिथकहरूलाई पश्चिमीहरूले विज्ञानसँग जोडेर प्रस्तुत गरेपछि ती आधिकारिक बन्ने गरेका छन् ।” कवि डा. नेपालको ४९ औँ वसन्त प्रवेशका अवसरमा आयोजित उक्त कार्यक्रममा कवि नेपालले भन्नु भयाे, “त्यसैले यस्ता भावगम्भीर मिथकहरूलाई अमूर्त व्याख्या गरेर होइन, युगीन यथार्थसहितको नवीन व्याख्या र विश्लेषण गरी वर्तमानसामु पस्कनुपर्छ भन्ने मान्यताका साथ मैले पौराणिक विषयलाई वर्तमानका आँखाले हेर्दै ‘समुद्रमन्थन’को सिर्जना गरेको हुँ ।”

काव्य-विमर्शका साथै काव्यांश वाचनसमेत गरिएको उक्त कार्यक्रममा प्रसिद्ध छन्दकविता वाचक सरु गुरागाईं, कवि बलराम दाहाल, चिरञ्जीवी सिग्देल, रञ्जु गौतम घिमिरे र बालप्रतिभा द्वय अनुज्ञा र प्रविज्ञा नेपालबाट ‘समुद्रमन्थन’भित्रका विशिष्ट अंशहरूको वाचन गरिएको थियो ।

छन्दवादी समाज नेपालका अध्यक्ष लीलाधर तिवारी (श्याम) को अध्यक्षता र संस्थापक अध्यक्ष कविराज पौडेलको काव्यात्मक सञ्चालनमा सम्पन्न प्रस्तुत कार्यक्रममा कृतिका प्रकाशक ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डे र स्रष्टा परशुराम तिमल्सिनाले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Loading...